दुग्ध उद्योगबाट मनग्य आम्दानी गर्दै बिष्णुमाया

दुग्ध उद्योगबाट मनग्य आम्दानी गर्दै बिष्णुमाया

केन्द्रबिन्दु
0
Shares

तेह्रथुम, २७ साउन । मेहनत गरे स्वदेशमा पनि थोरै लगानीबाटै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् वसन्तपुर टुटेका विष्णुमाया लिम्बू । उनले घरैमा संचालन गरेको वसन्त खाद्य उद्योगले उनलाई आर्थिक रुपमा सबल मात्रै बनाएको छैन, जिल्लामै सफल उद्यमी महिलाका रुपमा समेत चिनाएको छ ।

लिम्बुले मासिक ३० हजारभन्दा बढी आम्दानी गर्दै आएकि छिन् । दूधजन्य खाद्य परिकार उत्पादन हुने उनको उद्योगमा दैनिक २ सय लिटर दूध खपत हुन्छ । दुई वर्षअघि ३ लाख रुपैंया लगानीबाट शुरु गरेको उक्त उद्योगमा दुग्ध परिकार खुवा, छुर्पी, दही, घिउ, पनिर, चकलेट, ललिपपलगायताका सामग्री तयार पारिन्छ ।

आर्थिक अवस्था कमजोर भएका कारण लिम्बूका श्रीमान् लाखबहादुर ९ वर्षसम्म बैदेशिक रोजगारीका लागि खाडी मुलुक गए । खाडीमा श्रीमान्ले कमाएको पैसाले घरपरिवारको खर्च धान्न र छोराछोरी पढाउन पुगेन । घरैमा केही गरौं भनेर उद्योग थालेकी हुँ, लिम्बुले भनिन् । अहिले उद्योगबाट अपेक्षा गरेभन्दा राम्रो आम्दानी भइरहेको छ ।

श्रीमान्ले विदेशबाट पठाएको रकम र स्थानीय सहकारीबाट ऋण लिएर उनले दुग्ध उद्योग शुरु गरेकी हुन् । लिम्बूले उद्योगलाई आवश्यक पर्ने दूध वरपरकै किसानबाट प्रतिलिटर ४५ रुपैंयामा खरिद गर्छिन् । उनले दुध खपत गर्न थालेपछि वरिपरीका कृषकहरुले गाई र भैंसीमा लगानी बढाएका छन् ।

उत्पादनले बजार पाएपछि लगानी बढाएर १० लाख पुर्‍याएकी छिन् । अहिले उनका श्रीमान् लाखबहादुरले पनि वैदेशिक रोजगारको मोह त्यागेर उद्योगमै सक्रिय भएका छन् । उनको उद्योगमा तीन जनाले रोजगार समेत पाएका छन् । रासस

Logo