बैंक खाता खोल्न किन चाहिन्छ बत्ती र पानीको बिल

बैंक खाता खोल्न किन चाहिन्छ बत्ती र पानीको बिल

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २२ साउन ।

बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा ग्राहकको पहिचान सहज हुने भन्दै बत्ती तथा पानीको बिल माग्ने गरेका छन् तर यो अनिवार्य नै भने होइन ।

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणअन्तर्गत आफ्ना ग्राहक पहिचानका लागि यो व्यवस्था गरेको हो । ग्राहक बसोबास गर्ने स्थानका लागि बत्ती र पानीको बिल माग्ने गरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले बताए ।

“बत्ती पानीको बिल अनिवार्य नहुनु पर्ने हो,” उनले भने, “यसले भाडामा बस्नेलाई बैंक खाता खोल्न समस्या हुन सक्छ ।” सानिमा बैंकको सन्दर्भमा यो अनिवार्य नभएको जानकारी दिँदै उनले भने, “केही बैंकहरूले अनिवार्य गरेका हुनसक्छन ।”

काठमाडौं बानियाटारमा घर भाडामा बस्ने गणेश पौडेलले नेपाल एसिबिआई बैंकमा खाता खोल्न गएको भए पनि बत्ती र पानीको बिल नभएका कारण सफल भएन । पौडेल मात्रै होइन, धेरै सर्वसाधारणले बत्ती र पनीको बिल उपलब्ध नभएका कारणले आफूले चाहेको बैंकमा खाता खोल्न सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकले आतंककारी गतिविधिबाट सम्पत्ति आर्जन गर्ने वा आतंककारी क्रियाकलापलाई प्रोत्साहन गर्ने कामलाई नियन्त्रण गर्नका लागि आम्दानी स्रोतसँगै बैंक वित्तीय संस्थाले आफ्ना ग्राहकको पहिचान गर्नुपर्ने व्यवस्था गरेको छ । नेपालले मात्र नभै अन्तराष्ट्रिय रूपमा पालना गर्नुपर्ने सम्पत्ति शुद्धीकरणको व्यवस्था नेपालमा पनि लागू भएको हो ।

सम्पत्ति शुद्धीकरणका लागि ल्याइएका झन्झटिला प्रक्रियाहरू ग्राहक र बैंकबीचको दूरी पनि बढाउँदै गएको छ । नेपाली नागरिकले बैंक वा वित्तीय संस्थामा खाता खोल्दा नागरिकताको प्रतिलिपिसँगै अन्य विविध कागजपत्रहरू बुझउनुपर्ने अवस्था छ ।

नागरिकता नै भएको खण्डमा नेपाली नागरिकलाई बिजुली र पानीको बिल माग्नु आवश्यक नभएको सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए ।

“बैंकमा शंकास्पद कारोबार गरेको खण्डमा पनि बिजुली र पानीको बिलभन्दा पनि नागरिकता कै आधार खोज्ने हो,” उनले भने, “यी झन्झटिला प्रक्रियाले बैंकमा आउने सर्वसाधारणले केही अप्ठ्यारो मानेको अवस्था छ ।”

नेपाली जनता अझैसम्म पनि बैंकमा बानी परी नसकेको र भर्खर मात्रै सिक्दै गरेको बैंकिङ कारोबारमा सुरुमै झन्झटहरू धेरै भएकाले हिच्किचाउनु स्वभाविक पनि रहेको उनले बताए ।

बत्ती तथा पानीको बिलले हालको अवस्थामा ग्राहकको बसोबास भएको ठेगाना पत्ता लगाउन सकिने भएकाले माग्ने गरेको भए पनि त्यो नभएकै कारणले खाता नै खोल्न नदिनु उपयुक्त नभएको उनको भनाइ छ ।

Logo