धितोपत्र बोर्ड सदस्यले सेयर खरिद–बिक्री गर्न नपाउने

धितोपत्र बोर्ड सदस्यले सेयर खरिद–बिक्री गर्न नपाउने

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवददाता । काठमाडौं, २० साउन ।

नेपाल धितोपत्र बोर्डका सञ्चालक समितिका सदस्यहरूले आफ्नो कार्यकालभरि धितोपत्रको दोस्रो बजारबाट सेयर खरिद–बिक्री गर्न नपाउने भएका छन् । धितोपत्र बोर्डले सञ्चालक समितिलाई समेत आचार–संहिता बनाएर कार्यकाल अवधिभर सेयर कारोबारमा नियन्त्रण गरिएको हो ।

शुक्रबारदेखि ‘‘नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्यको आचार–संहिता, २०७४” बनाई लागू गरेको छ । सो आचार–संहिता अनुसार बोर्ड सदस्यले कार्यकालमा बोर्डबाट अनुमति–पत्र प्राप्त संस्थाको संस्थापक सेयरमा लगानी गर्न तथा दोश्रो बजारमा धितोपत्र खरिद–बिक्री गर्न नहुने व्यवस्था छ ।

बोर्ड सदस्यले आफूले प्रतिनिधित्व गरेको संस्थाका अतिरिक्त बोर्डबाट अनुमति–पत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन प्रक्रियामा रहेका संगठित संस्थामा सञ्चालक, सल्लाहकार तथा पारिश्रमिक तथा शुल्क पाउने गरी पूर्णकालीन पदाधिकारीका रूपमा समेत रहन नपाउने व्यवस्था गरेको छ ।

बोर्ड सदस्य धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था वा धितोपत्रको दर्ता तथा निष्काशन गरेका संगठित संस्थाको आधारभूत सेयरधनी वा पदाधिकारी रहेमा त्यस्तो व्यवसायी, सूचीकृत संगठित संस्था वा धितोपत्र दर्ता तथा निष्काशन गरेका संगठित संस्थाको सम्बन्धमा बोर्डलाई जानकारी दिई त्यो संस्थासम्बन्धी छलफल तथा निर्णयमा सहभागी हुन नहुने समेत व्यवस्था गरेको छ ।

बोर्डले बोर्ड सदस्यले ओहोदाको कत्र्तव्य पालना गर्दा आफूलाई ज्ञात हुन आएको कुनै कुरा वा बोर्ड वा अन्य माध्यमबाट प्राप्त गरेको वा आफूले लेखेको वा सङ्कलन गरेको कुनै सूचना, कागजात वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट बोर्डको अहित हुने गरी बोर्ड बाहिरका व्यक्ति तथा कुनै पनि किसिमका सञ्चारका माध्यमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रदान गर्न नहुने व्यवस्था गरेको छ ।

बोर्ड सदस्यले बोर्डबाट अनुमति–पत्र प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलापमा संलग्न हुन नहुने तथा बोर्डको काममा कुनै पनि प्रकारले असर पर्ने गरी बोर्ड सदस्यले बोर्डको पूर्व स्वीकृतिबिना कसैबाट कुनै प्रकारको दान, दातव्य, कोसेली वा उपहार माग्न, स्वीकार गर्न वा आफ्नो परिवारको कुनै सदस्यबाट स्वीकार गराउन नहुने गरी आचार–संहिता तयार गरी लागू गरेको छ ।

 

Logo