बजारमा डलरको चर्को अभाव

बजारमा डलरको चर्को अभाव

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १९ साउन

नेपाली बजारमा अमेरिकी डलरको अभाव चर्को रूपमा बढेपछि एनआइसी एसिया बैंकले विदेशबाट १० लाख डलर आयात गरेको छ ।

नेपाल राष्ट्र बैंकले गत असोजमा वाणिज्य बैंकहरूलाई पनि विदेशबाट अमेरिकी डलर ल्याउन अनुमति दिएपछि डलर आयात गर्ने वाणिय बैंकमा एनआइसी एसिया पहिलो हो । बैंकले विदेशबाट ल्याएको डलर बिक्री गर्दा बजार मूल्यभन्दा ३० पैसा धेरै लिई बिक्री गर्न पाउँछ ।

पछिल्लो समयमा बजारमा अमेरिकी डलरको अभाव बढेपछि विदेशबाट आयात गरेको बताउँदै एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिजालले भने, “अहिले हामीले १० लाख डलर ल्याएका छौँ, बजारको अवश्यकता अनुसार बढाउन सक्छौँ ।”

आयात गरेको डलरमा बजारको विनिमय दरभन्दा ३० पैसा धेरै लिएर बिक्री गर्ने उनले बताए । डलर ल्याउँदा कार्गो, बिमालगायतका खर्च लागेको हुनाले उक्त शुल्क लिन्पर्ने रिजालले बताए ।

विदेशबाट कार्गो गरेर ल्याउँदा खर्च लाग्ने भएकाले केन्द्रीय बैंकले ३० पैसा बढी लिन अनुमति दिएको हो । वाणिज्य बैंकहरूले विदेशी बैंकहरूमा भएको आफ्नो खाताबाट डलर ल्याउन राष्ट्र बैंकले अनुमति दिएको थियो ।

केन्द्रीय बैंकले उक्त व्यवस्था गरेपछि वाणिज्य बैंकहरूले विदेशी बैंकमा रहेका खाताबाट सहज हुने जुनसुकै मुलुकबाट डलर ल्याउन सक्ने भएका हुन् । हाल बैंकहरूले बजारको अवस्थाअनुसार अधिकतम एक करोड डलरसम्म ल्याउन सक्ने व्यवस्था छ ।

यसभन्दा अघि केन्द्रीय बैंकले बजारमा डलरको अभाव भए पनि सिङगापुरदेखि कार्गो गरी एक करोड डलर ल्याएको थियो । कार्गो गरेर डलर ल्याएको भए पनि डलर बिक्रीमा खरिद गर्दा लागेको शुल्क जोडेको थिएन ।

रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र भएको हुनाले डलरको आवश्यकता धेरै पर्छ । न्यून निर्यात तथा रेमिट्यान्स आप्रवाहमा कमी भएपछि डलरको अभाव देखिन थालेको हो । केन्द्रीय बैंकले विदेश जाने नेपालीका लागि डलर लैजाने सीमामा समेत केही खुकुलो गरेपछि अभाव बढ्दै गएको हो ।

दैनिक रूपमा बिदेसिने सयौं नेपालीमा नगद अमेरिकी डलरको माग उच्च परिमाणमा रहेको तर बजारमा अमेरिकी डलरको आपूर्ति न्यून भएको अवस्था हो । नेपाल राष्ट्र बैकको हालको नियमानुसार नेपाली नागरिकले विदेश जाँदा आफ्नो राहदानी वापत २,५०० अमेरिकी डलरसम्म सटही सुविधा प्राप्त गर्न सक्ने व्यवस्था छ । डिभी परेर पहिलोपटक अमेरिका जानेहरूले भने थप ५००० डलरसम्म लान पाउने प्रावधान छ ।

बैंकका उयत्यकाभित्रका सबै शाखा कार्यालय तथा उपत्यकाबाहिर विराटनगर, वीरगंज, धरान, पोखरा, नेपालगंज, नारायणगढ, बुटवललगायतका शाखाबाट सहज रूपमा डलर साट्न सकिने बैंकले जनाएको छ । बंैकले भिजा इन्टरनेसनल डेबिट कार्डमार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको छ ।

 

Logo