उद्योग क्षेत्रमा १५ अर्ब वैदेशिक लगानी भित्रियो

उद्योग क्षेत्रमा १५ अर्ब वैदेशिक लगानी भित्रियो

केन्द्रबिन्दु
0
Shares

अच्युत रेग्मी
काठमाडौँ, ५ साउन । नेपालको उद्योग क्षेत्रमा रु १५ अर्ब एक करोड ७२ लाख बराबरको वैदेशिक लगानी भित्रिएको छ ।

उद्योग विभागले दिएको जानकारीअनुसार ३ सय ९५ उद्योगमा विदेशी लगानी भित्रिएको हो । लगानी गरिएका उद्योगमा साना ३ सय ७०, मझौला १६ र ठूला नौवटा रहेका छन् ।

विभागका प्रवक्ता दुर्गाप्रसाद भुसाल संविधान निर्माणसँगै नेपाली उद्योग क्षेत्रमा विदेशी लगानी भित्रिने क्रम बढेको बताउनुहुन्छ । तत्कालिन उद्योगमन्त्री नवीन्द्रराज जोशीको सक्रियतामा आएको विशेष आर्थिक क्षेत्र (सेज) ऐन र आौद्योगिक व्यवसायी ऐनसँगै उद्योग क्षेत्रमा लगानी बढेको उहाँको भनाइ छ ।

ठूला उद्योगमा ६ अर्ब २२ करोड ७० लाख, मझौलामा १ अर्ब १७ करोड ४९ लाख र साना उद्योगमा ७ अर्ब ६१ करोड ५३ लाख रुपैंयाँ लगानी भएको छ । सबैभन्दा बढी चिनियाँ लगानीकर्ता रहेका छन् । चीनले ठूला ६, मझौला सात र साना १ सय ७० वटा उद्योगमा ६ अर्ब २४ करोड ६७ लाख रुपैंयाँ लगानी गरेको छ ।

भारतले एक ठूलो, तीन मझौला र ३६ वटा साना उद्योगमा १ अर्ब ९९ करोड ७० लाख रुपैंयाँ लगानी गरेको छ । मझौला तथा साना उद्योगमा लगानी गर्ने धेरै मुलुक रहेका छन् । संयुक्त राज्य अमेरिका ३८, दक्षिण कोरिया १५, जापान १२, बेलायत र नेदरल्याण्ड ९/९, फ्रान्स ८, बंगलादेश र स्विजरल्याण्ड ७/७, जर्मनी ६ तथा बेल्जियम र क्यानडाले ५/५ वटा उद्योगमा लगानी गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका महासचिव डम्बरप्रसाद रेग्मी विदेशी लगानीलाई बढीभन्दा बढी भित्र्याउनका लागि सरल नीति बनाउनुपर्नेमा जोड दिनुहुन्छ । “स्वदेशमा भएका स्रोतसाधनलाई अधिकतम उपयोग गरी देशको आर्थिक मेरुदण्ड बलियो बनाउन विदेशी लगानी आवश्यक छ,” उहाँले भन्नुभयो ।

वैदेशिक लगानीमध्ये सबैभन्दा बढी पर्यटन, कृषि र वनजंगल, ऊर्जा तथा सेवामूलक र उत्पादनमुलक व्यवसायमा लगानी भएको छ । उद्योग दर्तालाई सहज बनाउन विभागले गत माघ २ गतेदेखि अनलाइन दर्ता प्रक्रिया शुरु गरेको छ । गत आवमा उद्योग क्षेत्रमा १५ अर्ब २५ करोड ८५ लाख रुपैंया वैदेशिक लगानी भएको थियो ।
विभागले विदेशी १० करोडभन्दा कम लगानीका साना उद्योग, १० करोडदेखि २५ करोड लगानी रहेका मझौला तथा २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ ।

ऐन, नीति, नियम परिमार्जन, विशेष आर्थिक क्षेत्र (सेज) ऐन, खनिज नीति, विदेशी लगानीसम्बन्धी विधेयक, लगानी सम्मेलन, अनलाइनमार्फत उद्योग दर्ता, उद्योग विभागभित्र विद्युतीय हस्ताक्षरद्वारा कामका साथै संस्थागत सुधारले गर्दा उद्योग क्षेत्रमा वैदेशिक लगानी बढ्दै गएको विभागले जनाएको छ । रासस

Logo