सरकारको लक्ष्य ७ सय ३० अर्ब राजस्व संकलन

सरकारको लक्ष्य ७ सय ३० अर्ब राजस्व संकलन

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । ३ साउन, काठमाडौं ।

सरकारले आर्थिक वर्ष २०७४/७५ मा ७ सय ३० अरव ५ करोड ५५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजस्व संकलनको विगतलाई विश्लेषण गर्दै आर्थिक वर्ष २०७४/७५ मा ७ सय ३० अरव, ५ करोड ५५ लाख राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएको स्पष्ट पार्नु भयो । मंगलबार सिंहदरबारस्थित् आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उहाँले आर्थिक गतिविधि बढाउने गरी पुनर्निर्माणको काममा लगानीको विस्तार हुनु, भन्सार विन्दुहरुमा सुरुवात गरिएको नयाँ प्रणाली, लगानी अनुकूल वातावरणको निर्माण, निर्वाचनका कारण वृद्धि भएको आर्थिक क्रियाकलाप, राजस्व प्रशासनको विस्तारित क्षमता राजस्व संकलनमा वृद्धि हुने आधार रहेको पनि उल्लेख गर्नु भयो ।

सरकारले आर्थिक वर्ष २०७३/७४ मा ६ सय ११ अरव ७६ करोड ७८ लाख ९६ हजार राजस्व संकलन गरेको थियो । मन्त्री कार्कीले कर आधारको विस्तार र कर प्रणाली सुदृढ हुँदै गएकाले पनि राजस्व संकलनमा वृद्धि हुँदै गएको पनि स्मरण गराउनु भयो ।

अर्थ मन्त्रालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न चुहावट नियन्त्रणका लागि कठोर नीति लिने योजना पनि बनाएको छ । मन्त्री कार्कीले करको दायरा विस्तार, कर परिपालनामा अभिवृद्धि तथा चुहावट नियन्त्रणका लागि कठोर नीति अवलम्बन गरी राजस्व संकलन लक्ष्यभन्दा बढि असूल गर्ने योजना बनाइएको पनि बताउनु भयो । उहाँले राजस्व संकलनले अर्थतन्त्रलाई सवल र सक्षम बनाउने पनि उल्लेख गर्नु भयो ।

मन्त्री कार्कीले आर्थिक गतिविधिलाई पारदर्शी, सुदृढ र सक्षम बनाउन राजस्व प्रशासन प्रणालीलाई बलियो बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । सरकारले आर्थिक वर्ष २०७४/७५ मा ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

Logo