तेह्रथुमे ढाकाको अन्तर्राष्ट्रिय बजार प्रवर्धन गरिँदै

तेह्रथुमे ढाकाको अन्तर्राष्ट्रिय बजार प्रवर्धन गरिँदै

केन्द्रबिन्दु
0
Shares

तेह्रथुम, २३ असार । जिल्लामा परम्परागत रुपमा हाते मेसिनबाट बुनेर तयार गरिँदै आएको ‘तेह्रथुमे ढाका’ कपडाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्र्वन गर्ने प्रयास थालिएको छ । 

ढाका कपडा व्यावसायिक रुपमै बुनिरहेका महिला उद्यमीलाई अन्तर्राष्ट्रिय बजारमा चर्चामा रहेको ढाकाको आकर्षक डिजाइन, कपडाको रङ, बुट्टा, बजार व्यवस्थापन र मूल्य निर्धारणलगायत विषयमा सीप प्रदान गरी ढाकाको बजार प्रवद्र्वन गर्न सुरु गरिएको हो । 

यहाँका महिलाले गाउँघरमै बसेर हाते मेसिनबाट हातैले बुनेर तयार गरिएको ढाकाको कपडा देशविदेशमा ‘तेह्रथुमे ढाका’ को नामले चर्चित छ । हातैले बुनेको, कलात्मक र आकर्षक बुट्टा राखिएका कारण तेह्रथुमे ढाका एक हस्तकलाको रुपमा लोकप्रिय छ । जिल्लाका गाउँ÷गाउँमासमेत महिलाले घरायसी कामसँगै न्यून लगानीमा हाते मेसिनबाट आकर्षक डिजाइनका ढाका कपडा बुनेर आम्दानी गर्ने गरेका छन् । 

समय, सीप र मिहेनतबाट तयार हुने आकर्षक डिजाइनका कलात्मक ढाकाका कपडाको मूल्य निर्धारण र बजार व्यवस्थापनमा उनीहरुको आफ्नै पहुँच स्थापना हुनसकेको छैन । जिल्लामा सञ्चालित गरिबी निवारण कोष कार्यक्रमले महिला उद्यमीको सीपलाई आधुनिक र व्यवस्थित बनाएर उनीहरुको आयस्तरमा वृद्धि गर्न ढाका कपडाको व्यावसायिकरण र बजार प्रवर्धन गर्न थालिएको हो । 

गरिबी निवारण कोष कार्यक्रमअन्तर्गत जापान सामाजिक विकास कोषको सहयोगमा सञ्चालित सीप विकास तथा व्यावसायिकता कार्यक्रमले ‘तेह्रथुमे ढाका’ को बजारीकरणमा सहयोग गर्दै आएको गरिबी निवारण कोषका जिल्ला कार्यप्रबन्धक नरेन्द्रप्रसाद कटुवालले बताउनुभयो । 

सुरुवातमा उद्यमीलाई सदरमुकाम म्याङलुङमा ढाका कपडाको नयाँ र आकर्षक डिजाइन, मूल्य निर्धारण र बजारीकरण सम्बन्धी तालिम सञ्चालन गर्दैआएको कटुवालको भनाइ छ । 

“तेह्रथुमे ढाका नेपालमा भन्दा विदेशमा लोकप्रिय छ,” उहाँले भन्नुभयो । तालिमपछि महिलाका लागि साझा सुविधा केन्द्र स्थापना गर्ने तयारी छ । म्याङलुङ, जलजले, सिम्ले, सोल्मा र ओयाक्जुङका महिलालाई ढाका कपडाको डिजाइन सम्बन्धी तालिम प्रदान गरिएको छ । 

किसानलाई अलैँचीको बिरुवा वितरण 

कृषि विकास कार्यालयले जिल्लाका कृषकलाई यस वर्ष दुई लाख ४० हजार अलैँचीका बिरुवा अनुदानमा वितरण गरेको छ । 

खेती विस्तार गरी आम्दानी बढाउन चाहने कृषकलाई कार्यालयले आवेदन माग गरी ५० प्रतिशत अनुदानमा सुन्तला, कागती, आँप, लिचीलगायत जातका फलफूलका बिरुवा वितरण गरेको हो । वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेका अनुसार मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीको बिरुवा सबैभन्दा बढी बिरुवा वितरण गरेको हो । 

यस्तै सुन्तला, कागती, आँप र लिचीका करिब १३ हजार बिरुवा अनुदानमा वितरण गरिएको छ । विगतमा इलामबाट बिरुवा ल्याएर किसानलाई वितरण गर्ने गरेको कार्यालयले यस वर्ष जिल्लाकै अलैँची कृषकलाई उत्पादन गर्न लगाएर बिरुवा उत्पादन गरेको हो । जिल्लाबाट यस वर्ष रु ५२ करोड बराबरको अलैँची निर्यात भएको कार्यालयले जनाएको छ । रासस

Logo