विज्ञहरुलाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता छः अर्थमन्त्री शर्मा

विज्ञहरुलाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता छः अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले अर्थविदहरुको विज्ञतालाई अर्थमन्त्रालयसँग जोड्ने संयन्त्रको आवश्यकता रहेको औंल्याएका छन् । 

सोमवार नेपाल आर्थिक संघले अर्थमन्त्रीलाई संघको मानार्थ सदस्यता प्रदान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

मन्त्री शर्माले देशको अर्थतन्त्र हाँक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्न नहुने भन्दै विषय विज्ञहरुको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालको कुनै न कुनै संयन्त्र आवश्यक भएको बताए  । आफूले यस विषयमा योजना बनाइरहेको पनि जानकारी दिए । 
 
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले हामी नै जान्ने हौं भन्ने घमण्ड कर्मचारीहरुमा पलाउन सक्नेतर्फ सचेत रहेको भन्दै आफूले त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरे । उनले कुनै नीति र योजना तय गर्दा विज्ञहरुको ज्ञान र अनुभव समेटेर अघि बढ्ने बताए । 

नेपाल आर्थिक संघका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरुले अर्थमन्त्रालयलाई सघाउदै आएको प्रसंग उल्लेख गर्दै आगामी दिनमा पनि सो क्रम जारी रहने प्रतिवद्धता व्यक्त गरे । 

यस्तै अर्थविद डा.भवानी ढुंगाना, डा. शिवराज अधिकारी, गोपाल तिवारी लगायतले नयाँ सरकारसँग काम गर्नको लागि पर्याप्त समय नरहेको भन्दै जनतालाई प्रत्यक्ष फाईदा पुग्ने खालका ससाना र थोरै कार्यक्रम अघि सार्न सुझाव दिए । अर्थविदहरुले सरकारले विभिन्न समयमा अनुसन्धान गराउने गरेको भएपनि अध्ययन प्रतिवेदन पुस्तकालयमा थन्क्याउने  गरिएको गुनासो समेत गरेका छन्।   

 

Logo