बैंकहरूमा तरलता अभावले हाहाकार, लगानीयोग्य पुँजी ४ अर्ब ६५ करोड मात्र

बैंकहरूमा तरलता अभावले हाहाकार, लगानीयोग्य पुँजी ४ अर्ब ६५ करोड मात्र

केन्द्रबिन्दु
0
Shares

पछिल्लो दुई दिनदेखि बैंकिङ प्रणालीमा तरलताको चरम अभाव देखिएको छ। बैंकिङ प्रणालीमा ६० अर्बको तरलता रहेकोमा पछिल्लो चार दिनमै ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएकाले बैंकमा तरलता अभाव भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार १५ दिनअगाडिसम्म करिब  ६० अर्बभन्दा बढी तरलता रहेकोमा मंगलबारसम्ममा ५९ अर्ब १२ करोड रुपैयाँले घटेर ४ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ।

त्यस्तै बैंकिङ प्रणालीमा अनिवार्य तरलता अनुपात (सीआरआर) ३ प्रतिशत कायम गर्ने रकमसमेत अभाव भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ आर्थिक वर्ष लागेपछि बैंकिङ प्रणालीबाट ६१ अर्ब रुपैयाँ गायब भएको छ। साउन २२ गतेसम्म ६१ अर्ब घटेको तथ्यांकमा देखिए पनि त्यसपछिको उल्लेख छैन। पछिल्लो एक सातामा बैंकिङ प्रणालीबाट निक्षेप अझै घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

बैंकिङ प्रणालीमा तरलताको हाहाकार बढ्दै गएपछि बैंकहरुको आपसी सापटी कारोबार (अन्तर बैंक) ब्याजदरसमेत करिब ४ प्रतिशतले बढेको छ । पछिल्लो एक सातामा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता)को उच्च उतारचढाव देखिएपछि  अन्तर बैंक ब्याजदरमा समेत ठूलो असर परेको छ।

प्रणालीमा तरलता संकुचन हुँदै गएपछि बैंकहरुले आपसी सापटी कारोबार बढाउँदा बुधबार अन्तर बैंक सापटी ४.७५ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । गत साउन १२ गते बैंकहरुले ०.११ प्रतिशत ब्याजदरमा अन्तर बैंक सापटी कारोबार गरेको थिए । जसको १५ दिनपछि अर्थात् साउन २६ गते अन्तरबैंक कारोबार बढेसँगै ब्याजदरसमेत ४.०१ प्रतिशत पुगेको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) घटबढ हुनु स्वाभाविक प्रक्रिया हो । तर नयाँ आर्थिक वर्ष लागेसँगै बैंकहरुको स्रोत संकलन घट्दा तरतलामा चाप परेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

यो अवधि सरकारले शतप्रतिशत राजस्व उठाएको र त्यसमा बैंकहरुबाट  पनि राजस्वमा रकम गएकाले तथा बैंकहरुले अनिवार्य नगद मौज्दात (सीआरआर) मा व्यवस्थापन गर्न समस्या हुँदा अन्तरबैंक कारोबार बैंकहरुले बढाएकाले ब्याजदर पनि बढेको उनको भनाइ छ ।

प्रवक्ता ढकालले भने,‘बैंक तथा वित्त संस्थाहरुमा निक्षेप घटेको तथा विभिन्न बैदेशिक लगानी रहेका संस्थाहरुको रकम बाहिर गएको लगायत अन्य धेरै कारणले तरलता घटेर बजारमा तरलता अभाव भएको हो ।’

अहिले बैंकहरुले राष्ट्र बैंकमा राख्नुपर्ने सीआरआर नपुग्दा अन्तर बैंक सापटी लिन थालेका छन् । उनले भने,‘बैंकहरुमा एक दिनभरिमा निक्षेप हुने रकमभन्दा निकाल्ने रकम बढी हुन थालेकाले बैंकले एक अर्कासँग सापटी लिएर जम्मा गर्नुपर्ने ठाउँमा पुगेका छन्।’

अहिले बैंकहरूमा तरलता बढेर पैसाको माग बढेको छ । माग बढेपछि ब्याजदर स्वभाविक रुपमा नै बढ्छ। अहिले साउन २५ सम्म सरकारलाई राजश्व बुझाउने तथा संस्थाहरुको वार्षिक वित्तीय विवरण सार्वजनिक तथा बैदेशीक लगानी भए एक वर्षको नाफा रकम बाहिरी मुलुकमा जाने गरेकाले  अहिले बैंकहरुसँग प्राप्त हुने दैनिक निक्षेपभन्दा बढी बैंकबाट बाहिरिने रकम बढी भएको प्रवक्ता ढकाल बताउँछन्।

निक्षेप पनि घटेको र बैंकमा तत्काल नयाँ कर्जा माग नभएकाले पनि बैंकहरुमा तरलताको अभाव सिर्जना भएको उनको भनाइ छ।

राष्ट्र बैंकले परिपक्व भएको बैंकहरुको २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण फिर्ता गर्दासमेत बजारमा कुल ४ अर्ब रुपैयाँ मात्र अधिक तरलता  रहेको छ। २७ वटा बाणिज्य बैंकहरुसँग जम्मा ४ अर्ब रुपैयाँ तरलता हुँदा अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्नसमेत बैंकहरुलाई सकस परेको छ। 
 

Logo