छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक

छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

अर्थ मन्त्रालयले छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरेको छ । 

मंगलवार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजना सार्वजनिक गरेका हुन्। यस्तै उनले नेपाल राजश्व परामर्श समितिको वार्षिक प्रतिवेदन र सुझावहरुको संगालो समेत सार्वजनिक गरे ।

कार्यक्रममा नेपाल राजश्व परामर्श समितिले गठनको एक वर्ष पुगेको अवसर पारी पहिलो वार्षिक प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेश गरेको हो । साथै समितिले १३ वर्ष यताका राजश्वसँग सम्बन्धित विभिन्न सुझावहरु समेटिएको पुस्तक समेत सार्वजनिक गरेको छ । 

‘राजश्व परामर्श समितिका सुझाव तथा सिफारिसहरुको संगालोमा २०६६ देखि २०७८ सालसम्म दिइएका विभिन्न सुझाव तथा सिफारिसहरु समावेश गरिएको छ । 

सार्वजनिकीरण कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजनामा समावेश गरिएका विषयहरुबाट सेवाग्राहीहरु सन्तुष्ट भएर अपेक्षित लक्ष्य हासिल भए मात्र यसको सफलता ठहरिने बताए । 

शर्माले पारदर्शी र सरल भन्सार प्रशासन संचालनको लागि छैठौं सुधार योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । नीतिगत र कानुनी सुधार योजना आए मात्र भन्सार सुधार योजनाले साकार रुप लिने भएकोले त्यसतर्फ आफूले ध्यान दिने मन्त्री शर्माको भनाइ थियो । 

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले भन्सार सुधार योजनामा राखिएका विषयहरु भन्सारमा कार्यरत हरेक कर्मचारीका व्यक्तिगत कार्यसम्पादनका प्रतिवद्धताहरु भएको बताए  । 

छैठौं भन्सार सुधार तथा आधुनिकीकरण योजनामा विभिन्न पाँच वटा उपलब्धिहरु प्रक्षेपण गरिएको छ । व्यापार सहजीकरण, यथार्थपरक राजश्व संकलन, समाजको संरक्षण एवं सुरक्षा, स्वचालित भन्सार प्रणाली र संगठनात्मक विकास तथा क्षमता अभिबृद्धिलाई योजनाका उपलब्धिको रुपमा राखिएको छ । 

व्यापार सहजीकरणअन्तर्गत निकासी पैठारी प्रक्रियालाई सहजीकरण गर्ने गरी यसलाई समयसापेक्ष, लागत प्रभावी र अनुमानयोग्य बनाइएको हुनेछ । यथार्थपरक राजश्व संकलनअन्तर्गत भन्सार कानुनको परिमार्जन र परिपालना गर्दै यथार्थपरक राजश्व संकलनमा बृद्धि गरिएको हुनेछ ।
 
यस्तै समाजको संरक्षण एवं सुरक्षा अन्तर्गत मुलुकमा अवैध व्यापार र हानिकारक मालवस्तुहरुको आवागमनलाई निषेध गर्न मालवस्तुको परिवहन, ढुवानीका साधनहरु र ढुवानीका उपकरणहरुउपर निगरानी एवं नियन्त्रणका उपायहरु अवलम्बन गरिएको हुनेछ । 

स्वचालित भन्सार प्रणालीअन्तर्गत भन्सार जाँचपासका सबै प्रक्रियाहरु प्रविधिद्वारा स्वचालित गरिएको हुनेछ । देशभरका २९ वटा भन्सार कार्यालयहरुमा ‘नेपाल भन्सार स्वचालन प्रणाली’ कार्यान्वयन गरिएको हुनेछ ।  

संगठनात्मक विकास र क्षमता अभिबृद्धिअन्तर्गत भन्सार प्रशासनको प्रतिष्पर्धात्मक क्षमता अभिृद्धि गर्ने लक्ष्य राखिएको छ । आधुनिक भन्सारका मापदण्ड लागू गर्नको लागि संगठनात्मक क्षमता बढाइने लक्ष्य योजनामा समावेश गरिएको छ । 

भन्सार सुधार योजनाले उल्लेखित उपलब्धिहरुअन्तर्गत पन्ध्रवटा प्रतिफल प्राप्त हुने अपेक्षा गरेको छ । 
 

Logo