३ करोड ६३ लाख ६६ हजार नेपालीले खोले बैंक खाता

३ करोड ६३ लाख ६६ हजार नेपालीले खोले बैंक खाता

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय पहुँचसम्वन्धी अध्ययन प्रतिवेदनअनुसार बैंकहरूमा खाता खोल्ने नेपालीको संख्या ३ करोड ६३ लाख ६६ हजार पुगेको छ। 

राष्ट्र बैंकले बैंकिङ पहुँचको समग्र अवस्थाबारे अध्ययन गरेर शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार नेपालमा ६७ दशमलव ३४ प्रतिशत नागरिकमा बैंकिङ पहुँच पुगेको देखिएको छ । त्यस्तै, बैंकबाट कर्जा लिनका लागि खाता खोल्नेको संख्या १६ लाख ८२ हजार ८४५ पुगेको छ । २०७६ साल असारसम्म ६० दशमलव ९ प्रतिशतमात्रै नागरिकहरुमा वित्तीय पहुँच पुगेको थियो । 

स्थानीय तहमा पुगेका बैंकका शाखाको संख्या, बैंक खाताको संख्या, डिजिटल भुक्तानी प्रणालीमध्ये ग्राहकले सबैभन्दा बढी रुची भएको भुक्तानीको माध्यम, संक्रिय रहेका खाताको संख्या लगायतका विषयवस्तुलाई समेटेर प्रतिवेदन सार्वजनिक गरिएको हो ।

मुलुकका ७५३ स्थानीय तहमध्ये वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरूको शाखा ७५० स्थानीय तहमा पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी अब ३ वटा स्थानीय तहमा मात्रै शाखा पुग्न बाँकी रहेको छ । उक्त प्रतिवेदअनुसार ७५३ वटै स्थानीय तहमा ५ हजार ७७८ बैंकका शाखा पुगेका प्रतिवेदनमा उल्लेख छ ।

२०७७ जेठ मसान्तसम्ममा बैंकमा खाताको संख्या ३ करोड १८ लाख ८६ हजार रहेको थियो । जसमध्ये प्राकृतिक व्यक्तिको खाता २ करोड ९९ लाख ९८ हजार रहेको छ ।

२०७७ जेठ मसान्तसम्ममा ६७.३४ प्रतिशत प्राकृतिक व्यक्तिको एकमात्र बैंकमा निक्षेप खाता रहेको छ । २०७६ साल असार मसान्तसम्ममा ६०.९ प्रतिशत नागरिकको एकमात्र बैंकमा खाता रहेको थियो । 

त्यस्तै, नेपालमा वित्तीय कारोबारमा महिलाहरु सक्रिय देखिएको प्रतिवेदनमा उल्लेख छ। कुल खातामध्ये ६७.७ प्रतिशत खातामात्रै सक्रिय रहेका छन् । यसमा पनि महिलाको खाता धेरै सक्रिय रहेको राष्ट्र बैंकले बताएको छ ।

प्रतिवेदनअनुसार पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय रहेका छन् । 

ग्रामीण नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको पाइएको छ । प्राकृतिक व्यक्तिले खोलेका खातामध्ये निक्षेप खाताको संख्या सबैभन्दा बढी ९०.६ प्रतिशत र मुद्दती खाता ३.१ प्रतिशत मात्रै रहेको छ ।

कुल व्यक्तिगत खातामध्ये ९६.१५ प्रतिशत खाताको हिस्सा वयस्क व्यक्ति (१५ वर्ष भन्दा माथि) को रहेको केन्द्रीय बैंकले जनाएको छ । प्रति १ लाख जनसंख्या बराबर करिब १९ प्रतिशत बैंकका शाखा उपलब्ध रहेको छ । उक्त संख्या गण्डकी प्रदेशमा सबैभन्दा धेरै ३०.५ प्रतिशत र सबैभन्दा कम प्रदेश २ मा ९.७३ प्रतिशत रहेको छ ।

त्यस्तै, सार्वजनिक उक्त प्रतिवेदनमा बैंकमा खाता खोल्ने संख्याको तुलनामा कर्जा लिनका लागि खाता खोल्नेको संख्या ४.६२ प्रतिशतमात्रै रहेको देखाइएको छ । 

कर्जा प्राप्त गर्ने परम्परागत प्रणाली ‘सम्पत्ति धितो’ राख्नुपर्ने कारणले पनि कर्जा लिनेको संख्या कम भएको देखिन्छ । 

त्यस्तै, नेपाल राष्ट्र बैंकको यस प्रतिवदेनमा युवा पुस्ताहरुमा डिजिटल भुक्तानी प्रणालीको क्रेज बढ्दै गएको देखाइएको छ । २० वर्षभन्दा माथिका युवा पुस्ताहरूले डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्दै गएकाले भविष्यमा प्रविधिको माग उच्च रूपमा बढ्ने प्रक्षेपण गरिएको छ ।

डिजिटल भुक्तानी प्रणालीमध्ये सबैभन्दा लोक्रप्रिय मोवाइल बैंकिङ प्रणाली र त्यसपछि एटीएम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम बैंकिङमध्ये सबैभन्दा कम लोकप्रिय इन्टरनेट बैंकिङ रहेको छ ।

प्रतिवेदनअनुसार प्रतिखाता एटीएम प्रयोगकर्ताको संख्या २०.३५ प्रतिशत, मोवाइल बैकिङ प्रयोगकर्ता प्रतिखाता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता प्रतिखाता ३.८६ प्रतिशत रहेको छ । 

प्रतिएटीएम प्रयोगकर्ता सबैभन्दा कम गण्डकी प्रदेशमा १४.५ प्रतिशत, प्रतिखाता सबैभन्दा मोवाइल बैंकिङ प्रयोगकर्ता प्रदेश २ मा २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा ०.५२ प्रतिशत छन् । महानगरहरूमा एटीएम प्रयोगकर्ता २७.२८ प्रतिशत, इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत रहेको छ ।

गाउँपालिकाहरूमा प्रतिशाखा एटीएम प्रयोगकर्ताको संख्या क्रमशः १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ १.०८ प्रतिशत रहेको छ । प्रतिखाता मोवाइल बैंकिङको प्रयोगकर्ता सबैभन्दा धेरै गाउँपालिकामा ३३.३६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    
 

Logo