१३ औं शताब्दीमा बेलायतबाट सुरु गरिएको पासपोर्टबारे यस्ता छन् १० रोचक तथ्य

१३ औं शताब्दीमा बेलायतबाट सुरु गरिएको पासपोर्टबारे यस्ता छन् १० रोचक तथ्य

केन्द्रबिन्दु
0
Shares

पासपोर्ट कुनै पनि नागरिकको प्रवासमा रहँदाको परिचयपत्र हो। वैदेशिक रोजगारदेखि विदेश भ्रमणमा जानेसम्मका लागि पासपोर्ट नभई नहुने कुरा हो। कागजी पासपोर्ट अहिले प्रविधिमैत्री हुने क्रममा छ। अहिले व्यक्तिको विवरण कैद भएको ‘इलेक्ट्रोनिक चिप’ सहितको ‘बायोमेट्रिक’ पासपोर्ट प्रयोग हुने गर्छ। 

पासपोर्टबारे केही रोचक तथ्यहरू यस्ता छन्ः

१. पासपोर्टको सुरुआत १३ औँ शताब्दीमा भएको हो
बेलायती राजा हेनरी पाँचौंले १३ औँ शताब्दीमा प्रवासमा आफ्ना जनताको परिचय दिने दस्तावेजका रूपमा पासपोर्टको सुरुआत गरेका थिए। 

२. बेलायतकी रानी एलिजाबेथ द्वितीयको पासपोर्ट छैन
पासपोर्टबिनै एलिजाबेथ द्वितीय विश्व भ्रमण गर्छिन्। यद्यपि, बेलायती राजपरिवारका अन्य सदस्यका लागि भने पासपोर्ट नहुने छुट छैन। 

३. रातो पासपोर्ट सबैभन्दा बढी प्रयोग हुने गर्छ
कालो, रातो र हरियो गरी तीन रंगमा संसारभरका देशले पासपोर्ट निकाल्ने भए पनि पासपोर्टका लागि रातो सबैभन्दा प्रिय रंग हो। बेलायतले आफ्नो पासपोर्टलाई ‘रेड बुक’ (अर्थात् रातो किताब) भनेर सम्बोधन गर्छ। 

४. जापानी पासपोर्ट संसारकै शक्तिशाली 
हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार सन् २०२१ मा संसारको सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको हो। जापानको पासपोर्ट लिएर भिसाबिनै १ सय ९३ देशमा भ्रमण गर्न सकिन्छ। सन् २०२० मा युएईको पासपोर्ट संसारकै शक्तिशाली थियो। नेपालको पासपोर्ट संसारकै दश कमजोर पासपोर्टमध्ये पर्छ। 

५. हजारौं वर्ष पुरानो शरीरको पासपोर्ट 
इजिप्टका शासक (फेरो) रामसेस दोस्रोको मम्मी (संरक्षित मृत शरीर) सन् १९७० को दशकमा इजिप्टबाट फ्रान्स लैजाँदा आधिकारिक पासपोर्ट जारी गरिएको थियो। उनको अनुहारसहितको पासपोर्टमा उनको पेशा ‘मृत राजा’ भनेर राखिएको थियो 

६. पासपाेर्टमा पारिवारिक फोटो
कुनै समय पासपोर्टमा व्यक्तिगत फोटो राख्नु अनिवार्य थिएन। सन् १९१५ मा बेलायतको पासपोर्टमा पारिवारिक फोटो राख्न पाइन्थ्यो। सबै सदस्यको अनुहार स्पष्टसँग देखिनु भने आवश्यक हुन्थ्यो। 

७. वैश्विक पासपोर्ट पनि हुने गर्छ 
वैश्विक नागरिकताको पक्षमा रहेको संस्था ‘वल्र्ड सर्भिस’ अथोरिटीले वैश्विक पासपोर्ट जारी गर्ने गर्छ। बुर्किना फासो, इक्वेडर, मौरिसियाना, तान्जानिया, टोगो र जाम्बियाले यस पासपोर्टलाई अहिलेसम्म आधिकारिकता दिएका छन्। 

८. पासपोर्ट पेस गर्न नसकेर १७ वर्ष एयरपोर्टमा बास 
एकजना इरानी नागरिकले फ्रान्सेली अधिकारीलाई आफ्नो पासपोर्ट बुझाउन नसकेपछि उनी १७ वर्ष एयरपोर्टमै बसेका थिए। मेहरान करिमी नसेरी नामका ती व्यक्ति सन् १९८८ को अगस्ट र २००६ को जुलाईको बीचमा उक्त एयरपोर्टमा रहेका थिए। 

९. देशनिकाला हुँदाको पासपोर्ट 
देश गणतन्त्रमा गएपछि सन् १९१९ मा सत्ता गुमाएको अस्ट्रियाको राजपरिवारका लागि जारी गरिएको अस्ट्रियन पासपोर्टमा लेखिएको थियो–‘अस्ट्रियाबाहेक संसारका सबै देशमा आधिकारिक’। हाल जीवित रहेका अस्ट्रियाका राजाका छोरा फेलिक्स ह्याब्सबर्ग लोरेन सोही पासपोर्ट हाल प्रयोग गरिरहेका छन्। 

१०. ट्याटु बनाए वा अनुहारको शल्यक्रिया गरे नयाँ पासपोर्ट बनाउनुपर्छ।    
कुनै पनि व्यक्तिले ट्याटु बनाए वा अनुहारको शल्यक्रिया गराएको खण्डमा पहिलेको पासपोर्टले काम गर्दैन। यस्तो अवस्थामा नयाँ पासपोर्ट बनाउनुपर्ने हुन्छ।

Logo