चन्द्र ढकालले दिए धितोपत्र बोर्डको सदस्यबाट राजीनामा, अन्जन श्रेष्ठ सिफारिश

चन्द्र ढकालले दिए धितोपत्र बोर्डको सदस्यबाट राजीनामा, अन्जन श्रेष्ठ सिफारिश

केन्द्रबिन्दु
0
Shares

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको सदस्य पदबाट राजीनामा दिएका छन्।

वरिष्ठ उपाध्यक्ष ढकाल महासंघमा निर्वाचित भएसँगै महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सदस्य बनेका थिए । तर पछिल्लो समय ढकाल सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरण विवादमा मुछिएका थिए ।

उनले भने,‘म महासंघको वरिष्ठ उपाध्यक्ष भएको हिसाबले मलाई प्रतिनिधिको रुपमा महासंघले पठाइएको थियो । म भन्दा अगाडि पनि शेखरजी वरिष्ठ उपाध्यक्ष हुँदा उहाँ नै सञ्चालक हुनु भएको थियो।’ 

म व्यवसायी भएको र महासंघको वरिष्ठ उपाध्यक्ष नहुँदै धेरै कम्पनीहरुको सञ्चालक भएकाले मलाई बोर्डको सञ्चालकको रुपमा काम गर्ने मन थिएन । तर, महासंघबाट वरिष्ठ उपाध्यक्ष नै प्रतिनिधिको रुपमा जाने प्रचलन भएका कारण आफू बोर्डमा गएको उनको भनाई छ ।

सर्वोत्तम सिमेन्टको शेयर खरिद विवादका कारण राजीनामा दिएको भन्ने आरोप लाग्यो नि भन्ने प्रश्नमा उनले महासंघको उपाध्यक्ष हुनुभन्दा अगाडि नै निजी कम्पनीको शेयर किनिरहेकै हुन्छन्। त्यस्ता विषयलाई लिएर मुद्धा बनाउँदा केही भएन । 

उनले भने,‘तर म त्यो भन्दा पनि पहिला व्यवसायी हो । व्यवसायी भएपछि महासंघको प्रतिनिधि भएर बोर्डमा गएकाले यस्तो आरोप लाग्नुु राम्रो होइन।’ सर्वोत्तमको शेयरको कारणले नै राजीनामा नदिएको उनको भनाइ छ ।

सर्वोत्तम सिमेन्टको शेयर वरिष्ठ उपाध्यक्ष ढकालका भाइ हेमराज ढकालको नाममा किनेका थिए । ढकाल नै सञ्चालक रहेका बेला भाइले शेयर किनेको भन्दै बिवादित बनेको थियो । यस विषयमा महासंघले विज्ञप्ति नै निकालेर सञ्चालक हुनुभन्दा अगावै कानूनअनुसार शेयर किनिएको प्रष्टीकरण दिएको थियो ।

यही प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पनि मंगलबार पदबाट राजीनामा दिइसकेका छन् ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, बोर्डका सदस्य ढकाल र नेप्सेका सीईओ साउदले सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको भेटिएको थियो ।

यसैगरी अब धितोपत्र बोर्डको सदस्यमा उद्योग बाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठलाई महासंघले पठाउने भएको छ ।

Logo