माथिल्लो मस्याङ्दी ‘ए’ को विद्युत सुरु हुन अझै ३ महिना लाग्ने

माथिल्लो मस्याङ्दी ‘ए’ को विद्युत सुरु हुन अझै ३ महिना लाग्ने

केन्द्रबिन्दु
0
Shares

बाढी पहिराले क्षति पुर्याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा रहेकोे माथिल्लो मस्याङ्दी ‘ए’ जलविद्युत आयोजनाबाट अझै विद्युत उत्पादन हुन सकेको छैन ।

गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै संरचना हालसम्म पनि निर्माण हुन नसक्दा ५० मेगावाट क्षमताको विद्युत उत्पादन हुन नसकेको हो । 

आयोजनाका अनुसार दुईवटै टर्बाइनलगायतका संरचनामा क्षति पुगेको छ । यी दुवै टबाईन नै नयाँ राख्नुपर्ने भएकाले विदेशबाट ल्याउने प्रक्रियामा रहेको र अझै विद्युत उत्पादन गर्न करिब तीन महिना लाग्ने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । 

अधिकारीका अनुसार उक्त बाढीले आयोजनाको बाँधस्थलदेखि पावर हाउस र ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पुगेको छ । यस ११ केभीका १० खम्बा बगाएको थियो भने ३० खम्बा ढालेको थियो । खम्बा राख्ने तथा मर्मत भने गरिएको आयोजनाले जनाएको छ । 

विद्युत उत्पादन हुन नसक्दा दैनिक करिब रु एक करोडको हाराहारीमा नोक्सान भइरहेको आयोजना जनसम्पर्क अधिकृत अधिकारीको भनाइ छ । 

आयोजनाका अनुसार बिजुली उत्पादन नहुँदा हालसम्म रु ७५ करोडभन्दा बढी नोक्सान भइसकेको छ ।  अझै तीन महिनासम्मै बिजुली उत्पादन गर्न लागेमा करिब रु एक अर्ब नोक्सान हुने बताइएको छ । 

क्षतिग्रस्त विद्युत गृहका उपकरण चीनबाट आयात गर्ने तयारी भएको आयोजनाले जनाएको छ । रासस

Logo