कोरोना महामारीयता नेपालमा ३ अर्बको मास्क आयात

कोरोना महामारीयता नेपालमा ३ अर्बको मास्क आयात

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरस विश्व व्यापीरुपमा फैलिएको करिव दुई वर्ष पुग्न लागेको छ। तर अहिले पनि कोरोना संक्रमण नियन्त्रणमा आउन सकेको छैन। 

संक्रमण कहिलेसम्म रहन्छ भन्ने पनि कसैले भन्न सक्ने अवस्था छैन। पछिल्लो समय संक्रमणको लहर एकपछि अर्को गर्दै परिर्वतन हुँदै गएको छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने पहिलो माध्यम खोप र मास्क रहेको छ। त्यसैले सामान्य अवस्थामा नेपालमा आयात नै नहुने मास्क कोरोना महामारीले गर्दा हालसम्मकै उच्च आयात भएको छ। 

२०७६ सालबाट देशव्यापीरुपमा कोरोना संक्रमण फैलिएसँगै रोकथाम तथा नियन्त्रणका लागि मास्क अनिवार्य गरिएपछि नेपालमा मास्कको उच्च आयात भएको देखिन्छ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणभन्दा पहिले मास्क नै आयात गरेको देखिँदैन।

विभागको तथ्याङ्क अनुसार नेपालले दुई आर्थिक वर्षमा २ अर्ब ८५ करोड ८८ लाख बराबरको मास्क मात्रै आयात भएको छ। 

जस अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ३५ करोड ९८ लाख २ हजार वटा मास्क २ अर्ब ५० करोड ८ लाख रुपैयाँ बराबरको आयात भएको छ। त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा भने नेपालले ७३ हजार १९९ केजी मास्क ३५ करोड ८० लाख रुपैयाँ बराबरको आयात गरेको भन्सार विभागले जनाएको छ।

Logo