अर्थमन्त्री शर्माले दिए मन्त्रालयमा नयाँ टिमको पूर्णता

अर्थमन्त्री शर्माले दिए मन्त्रालयमा नयाँ टिमको पूर्णता

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयमा आफू अनूकूलता अनुसारको नयाँ टिम बनाएका छन्। अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयमा अर्थ सचिवबाट सुरु गरिएको नयाँ टिमले पूर्णता पाएको छ।

राजश्व सचिवमा कृष्णहरि पुष्कर र महालेखा नियन्त्रकको जिम्मेवारीमा सचिव सुमनराज अर्याललाई जिम्मेवारी दिएसँगै अर्थ मन्त्रालयमा उच्च पदस्थ अधिकारीहरुको नयाँ टीमले पूर्णता पाएको छ। आइतबार नयाँ सचिवहरुलाई मन्त्रालयमा स्वागत गरिएको थियो।

नवनियुक्त सचिवहरुलाई स्वागत गर्दै मन्त्री शर्माले मन्त्रालय अन्तरगतका तीन जना सचिवहरुको विशिष्ट जिम्मेवारीलाई एकीकृत कार्यप्रणालीको माध्यमबाट सम्पादन गर्न निर्देशन दिए।

वित्त व्यवस्थापन (मूलतः अर्थोपार्जन), त्यसको समूचित वितरण र अनुगमनको जिम्मेवारीमा रहेका सचिवहरुबाट आ–आफ्नो विशिष्टता अनुसारको परिणाममुखी भूमिका निर्वाह हुने विश्वास अर्थमन्त्रीले गरेका छन्। त्यसक्रममा मन्त्री शर्माले यसअघि आफूले राजश्व वृद्धि, भन्सार, सार्वजनिक संस्थान, अनुगमन, अध्ययन अनुसन्धानलगायतको विषयमा आफूले माग गरेका योजनाहरु यथाशक्य चाँडो पेश गर्नसमेत निर्देशन दिए। 

अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रका सूचकहरुमा सकारात्मक परिणाम दिन सके मात्र आफूहरुले काम गरेको जस्तो हुने भएकाले सोही अनुसार खटिनुपर्ने बताएका छन्। उनले राजश्व वृद्धि, पुँजीगत खर्च क्षमताको वृद्धि र वित्तीय अनुशासन कायम गर्ने विषयमा सकारात्मक परिणाम दिनैपर्ने आवश्यकता औंल्याउँदै सचिव मरासिनीले संविधानको भावना र वर्तमान सरकारको भिजन अनुसार समाजवादी अर्थतन्त्र निर्माणको जग बसाल्ने जिम्मेवारी आफूहरुमा रहेको बताए।  

नवनियुक्त राजश्व सचिव कृष्णहरि पुष्करले व्यूरोक्रेसीमा अनुभवी व्यक्ति धेरै रहेको तर ‘पर्फमर’ कम देखिएको स्वीकार गर्दै देशभर रहेका अन्य सरकारी कार्यालयहरुले समेत स्वामित्व महसुस गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले करदातामैत्री सेवा प्रवाहमा जोड दिनुका साथै राजश्व तथा भन्सार प्रशासनमा ‘इम्पोर्टेड ट्रेन्ड’ भन्दा ‘होम ग्रोन ट्रेन्ड’ का आधारमा काम गरिने बताए। 

नवनियुक्त महालेखा नियन्त्रक सुमनराज अर्यालले नीतिगत सुधार व्यवसायिक दक्षता र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर महालेखाको कार्यप्रणालीलाई थप सुदृढ गर्ने प्रतिवद्धता जनाए। उनले सरकारी खर्च प्रणालीमा वित्तीय अनुशासनको पक्ष महत्वपूर्ण रहेकोमा जोड दिँदै त्यसको लागि आफ्नो तर्फबाट सक्दो योगदान हुने विश्वास दिलाएका छन्।

Logo