ब्याएका गाईभैँसीलाई दिन थालियो पोषण भत्ता

ब्याएका गाईभैँसीलाई दिन थालियो पोषण भत्ता

केन्द्रबिन्दु
0
Shares

जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । 

गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभैँसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

कृत्रिम गर्भाधानबाट गाईभैँसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको हो ।

गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख दीपक श्रेष्ठले कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाछाबाछी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । 

“कृत्रिम गर्भाधान गराएका गाईँभैसीबाट जन्मिएका पाडापाडी र बाछाबाछी चार महिना पालेपछि मात्र अनुदान दिने गरिएको छ”, उनले भने, “यसले गर्दा कृषकले उन्नत जातका पाडापाडी र बाछाबाछी पाल्न थालेका छन् ।” 

विशेषगरी जन्मिँदाबित्तिकै भैँसीका पाडापाडी नपाल्ने चलन हटाएर संरक्षण गर्ने कार्यक्रम प्रभावकारी देखिएको पशु सेवा प्राविधिक श्रेष्ठले बताए । गत आर्थिक वर्ष २०७७÷७८ मा ७२ कृषकलाई पाडापाडी र बाच्छाबाच्छी हुर्काएवापत पोषण भत्तास्वरुप रु दुई हजार ५ सय का दरले कूल रु एक लाख ८० हजार वितरण गरेको शाखाले जनाएको छ ।

जनप्रतिनिधि र पशु सेवा प्राविधिकले बाछाबाछी र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउने कार्यविधि छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमका अलावा उन्नत जातको राँगो, साँढे र बोकासमेत वितरण गरिएको छ । रासस
 

Logo