यातायात व्यवस्था विभागले सुरु गर्यो परीक्षणकालीन लाइसेन्स वितरण, कसले पाउँछन्?

यातायात व्यवस्था विभागले सुरु गर्यो परीक्षणकालीन लाइसेन्स वितरण, कसले पाउँछन्?

केन्द्रबिन्दु
0
Shares

यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ।

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही वर्षदिन कुुर्न पर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थायीरुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो ।

लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स पाउने यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भुसालले जानकारी दिए। उनले हालका लागि काठमाडौंको एकान्तकुनास्थित कार्यालयबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसकेको र क्रमशः देशैभरका यातायात कार्यालयहरुमार्फत वितरण गरिने पनि बताए।

अहिले स्मार्ट लाइसेन्स लिनका लागि करिब ७ लाख सेवाग्राही महिनांै दिनदेखि लाइनमा छन्। विभागका प्रवक्ता डा.भुसालले अबको दुई महिनाभित्र स्मार्ट लाइसेन्स वितरणको काम सुरु हुने पनि बताए। उनले कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकोले छ सात महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने बताए। उनले अबको एक, डेढ महिनाभित्र १४ लाख स्मार्टकार्ड आउन लागेको जानकारी दिदैँ कार्ड आए लगत्तै तीन सिफ्टमा काम गरेर भए पनि वितरण गरिने बताए।

विभागका प्रवक्ता डा.भुसालले कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा आउँदो भदौं २० गतेबाट सञ्चालन हुने जानकारी दिए। उनले लाइसेन्सका लागि परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड तयार पारेर त्यसैअनुरूप परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरिसकेको उल्लेख गरे। उनले पहिलो चरणमा आवेदन दिएकाहरूको मात्र लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा र त्यसपछि मात्रै नयाँको लागि आवेदन खोल्ने पनि बताए। नयाँको लागि आवेदन खोल्न भने अझै केही महिना लाग्ने उनको भनाइ छ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षाका लागि ६ लाख जनाको आवेदन परेको छ। विभागले लाइसेन्सको लागि आवेदन अनलाइनबाटै लिने गरेको छ।

Logo