नेपाल राष्ट्र बैंक मैमत्त हात्ती बन्दा शेयर बजारमा पहिरोः राधा पोखरेल

नेपाल राष्ट्र बैंक मैमत्त हात्ती बन्दा शेयर बजारमा पहिरोः राधा पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिकसँगै शेयर बजारमा जान थालेको पहिरो रोकिएको छैन । 

आज नेपालको शेयर बजार कारोबारको इतिहासमा नेप्से परिसूचकमा सबैभन्दा बढी गिरावट आएको छ । साताको पहिलो कारोबार आइतबार साढे दुई घण्टामा नै १४७ अंकले अर्थात् ५ प्रतिशतभन्दा बढीले गिरावट भएसँगै नियमअनुसार ४०  मिनेट कारोबारमा ब्रेक लागेको थियो ।

पछिल्लो समय निरन्तर रुपमा उच्च रेकर्ड राख्दै गएको शेयर बजारमा राष्ट्र बैंक लगाम लगाएसँगै शेयर बजारमा प्रभाव परेको छ । राष्ट्र बैंकले शेयर कर्जाधितोमा १२ करोड सिमाको कारण यो अवस्था आएको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् शेयर बजारलाई प्रभावित पार्ने गरी सबै बैंक तथा वित्तिय संस्थालाई एकीकृत निर्देशिका जारी गर्दै ४ देखि १२ करोडको सिमा लगायो । 

यस्तो नीति बनाएको आम शेयर लगानीकर्तालाई जगजाहेरै नै रहेको छ । केही दिन पहिला कान्तिपुर टेलिभिजनले आयोजना गरेको ‘आर्थिक समिट २०२१’ मा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पटक पटक पूँजीबजारको हितमा कदम चाल्न सुझाएका थियौं ।  

बिडम्बना बैंक तथा बित्तिय संस्थाले आफ्नो कोर क्यापिटलको निश्चित प्रतिशत रकम शेयर बजारमा लगाउन पाउने त्यही राष्ट्र बैंक बनाएको नीति अहिले आएर आफैले धज्जी उडाउने काम गरेको छ । 

यो कदम आम शेयर लगानीकर्ताको लागी ‘गर कि मर’ भनेजस्तै भएको छ । तर यस्तो अवस्था आएता पनि हर सम्भव शेयर लगानीकर्ताको सम्पत्ति सुरक्षार्थ आमलगानीकर्ता लाग्नुपर्ने देखिएको छ ।  

पछिल्लो समय नेपालको पूँजी बजार बामे सर्ने युगबाट टुकुटुक हिँड्न थालेको थियो । यो कुरा आम लगानीकर्तामाझ घामजत्तिकै छर्लङ्ग छ । यसको वाबजुद् नियामक निकायबाट बेला बेलामा ‘बेमौसमी बाजा’ बजाएको देख्दा आमलगानीकर्ताको सम्पत्तिमा गम्भीर समस्या देखा पर्ने गरेको छ । 

उपल्लो पदमा जान मरिहत्ते गरेर पुग्ने, त्यसपछि आफूभन्दा माथिल्लो तालुकदारको कुरै नसुन्ने परिपाटी हालै नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो निर्णयबाट ‘डोकाले छोपेको बिरालो’ जस्तो छर्लङ्गै भएको छ ।

मैले केही दिन पहिला नयाँ गठबन्धन संयुक्त सरकारका अर्थमन्त्री जनार्दन शर्मालाई कार्यभार सम्हालेकै दिन शेयर बजारका बिषयमा र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् चाल्न सक्ने लगानीकर्ता मारा नीतिको बिषयमा पूर्वानुमान गरी अर्थ मन्त्रीलाई त्यस्तो नीति नल्याउन अनुरोध गरेका थियौं । तर न त अर्थमन्त्रीले हाम्रो मागको सुनुवाइ गरे, न त राष्ट्र बैंकले नै । 

अर्थ मन्त्रीलाई भनेजस्तै गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् शेयर लगानीकर्तालाई प्रभावित बनाउने नीति ल्यायो । राष्ट्र बैंकको यो कदम आम लगानीकर्तालाई अहिले पनि किमार्थ स्वीकार्य छैन । 

यदि यो कदम नसच्याई लगानीकर्तालाई लतारेर अगाडि बढछु भन्ने लाग्छ भने हामी आम लगानीकर्ता आन्दोलनको ज्वारभाटा सिर्जना गर्न पछि पर्नेछैनौं । त्यसपछिको परिणाम नेप्से र धितोपत्र बोर्डले भोगेको पछिल्लो घटनाभन्दा पृथक हुने छैन ।

समवेदनशील विषयमा आम लगानीकर्ताको मनोभावनालाई सम्बोधन गर्दै समय छँदै राष्ट्र बैंकले आफ्नो पछिल्लो ४ देखि १२ करोड शेयर धितो कर्जा सिमा सच्याउनलाई सरोकारवाला व्यक्ति सँगसँगै अर्थमन्त्रीलाई समेत लाई बारम्बार अवगत गराउँदै आएका छौं । 

यदि यो कुरालाई बेवास्ता गर्दै यो नीति परिवर्तन भएन भने नेपाल राष्ट्र बैंकलाई हेक्का रहेस् फलामको च्यूरा चपाउनु बराबर हुनेछ ।

नेपाल पूँजीबजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेलसँग केन्द्रबिन्दुका लागि अनिश मिजारले गरेको कुराकानीमा आधारित ।  

Logo