के कारणले घट्यो नेप्से परिसूचक एकै दिन १०८ अंकले ?

के कारणले घट्यो नेप्से परिसूचक एकै दिन १०८ अंकले ?

केन्द्रबिन्दु
0
Shares

गत भदौ २ गते नेपाली पूँजीबजारको इतिहासमा नेप्सेले उच्च रेकर्ड बनाएको थियो । त्यस दिन नेप्से परिसूचक करिब ३२ अंकको हाराहारी ३ हजार १ सय ९८ अंक पुगेर उच्च रेकर्ड बनाएको थियो ।

त्यस्तै गत साउन ३१ गते पनि आइतबार कारोबार रकममा नयाँ रेकर्ड बनाएको थियो । त्यस दिन २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन अहिलेसम्मकै उच्च कारोबार रकम रहेको थियो । 

त्यसभन्दा अगाडी कोरोनाको दोस्रो लहरका कारण काठमाडौंलगायत देशैभर निषेधाज्ञा लागु भएको बेला असारमा १९ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको थिए ।

यसरी करिव दुई वर्षदेखि शेयर बजारमा लगानीकर्ताहरूको आकर्षण बढ्दै गएको थियो । लगानीकर्ताको आकर्षण बढ्दै जाँदा शेयर बजारले पनि दैनिक रुपमा नयाँ नयाँ रेकर्ड कायम गर्दै आएको थियो ।

तर नेपाल राष्ट्र बैंकले एक महिना ढिला गरेर ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीति पछि शेयर बजारमा पहिरो जान थालेको हो । 

मौद्रिक नीतिले शेयर बजारलाई प्रभावित पार्ने गरी शेयर धितो कर्जामा ४ करोडदेखि १२ करोडको सिमा लगाएको कारण लगानीकर्ताको मनोवल घट्दै आएको कारण शेयर बजार प्रभावित भएको छ।

साताको पहिलो कारोबारको दिन आइतबार तीव्र उतारचढावपूर्ण रहेको शेयर बजार १०८ अंकले घटेर २ हजार ८१८ विन्दुमा सीमित भएको छ । 

आज एक समय १४७ अंक अर्थात् ५.०३ प्रतिशतले घट्दा नेगेटिभ सर्किट ब्रेकर लागेर ४० मिनेटका लागि कारोबार नै बन्द हुन पुगेको थियो ।

तर ४० मिनेट कारोबार बन्द भएर कारोबार खुलेपछि कारोबारको अन्तिम समयमा समग्रमा नेप्से सूचक ४० अंकले सुधार भएर कारोबार बन्द भएको छ।

आज कारोबारमा आएका २१५  कम्पनीको २ करोड ३० लाख ७९ हजार ८३२ कित्ता शेयर ११ अर्ब २४ करोड ३ लाख ९१ हजार ४५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस कारण घट्यो बजार 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिमा शेयर बजारलाई प्रभावित पार्ने गरी शेयर कर्जामा कडाई गरेकाले पछिल्लो समय बजार घट्दै गएको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन्।

सरकारले मौद्रिक नीति र यसलाई कार्यान्वयन गर्न जारी गरिएको एकीकृत निर्देशन शेयर बजार घटाउने प्रमुख कारक तत्व भएको उनको भनाइ छ । 

‘१२ करोड रुपियाँको शेयर धितो कर्जा सीमा र नवीकरणमा गरिएको कडाइले बजारलाई प्रभावित बनाएको छ । लगानीकर्ताले गत वर्ष यही बेला १२ करोड रुपियाँभन्दा बढी शेयर धितो कर्जा लिएका छन्,’ उनले भनिन्, ‘अहिले त्यो कर्जा नवीकरण गर्ने समय भएको छ । नवीकरणमा १२ करोड रुपियाँको सीमालाई कटाउन नपाइने भएकाले लगानीकर्ता मनोवल खस्किदा शेयर बजारमा गिरावट आएको छ।’

अब यदि नेपाल राष्ट्र बैंक र सरकारले यो विषयमा ध्यान दिएनन् भने लगानीकर्ताको मनोवल अझ खस्किदै जाने उनको भनाई छ ।

त्यस्तै, नेपाल इभेष्टमेन्ट फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले राष्ट्र बैंकको अव्यवहारिक नीतिका कारण शेयर बजार प्रभावित भएको बताएका छन्। 

राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर बजार प्रभावित बनाउने नीति व्यवहारिक छैन। उनले भने,‘राष्ट्र बैंकको यो नीतिले पूँजी बजार मात्रै नभएर समग्र अर्थतन्त्रलाई राम्रो गर्दैन। त्यसैले अब राष्ट्र बैंकले पुनर्विचार गर्नुपर्छ ।’

शेयर बजार घटबढ हुनु स्वाभाविक भएकाले लगानीकर्ता बढ्दा मात्तिने र घट्दा संयमता गुमाउन हुँदैन । तर पछिल्लो समय लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा असर परेको उनको भनाई छ ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूँजीबजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले शेयर बजार प्रभावित भएर धेरै मानिसहरू पीडित भएकाले अहिले यस्तो अवस्थामा केही नभन्ने बताए ।उनले शेयर बजारमा केही सुधार आएपछि मात्रै अहिलेको अवस्थाको विषयमा कुरा गर्ने बताए । 

लगानीकर्ताहरूका अनुसार राष्ट्र बैंकले लागू गरेको चार र १२ करोड रुपैयाँको शेयर धितो कर्जा सीमाको नीति प्रमुख कारण भएको जनाएका छन्। 

त्यस्तै, राष्ट्र बैंकको नीतिबाहेक पछिल्लो समय बैंकिङ प्रणालीमा भएको तरलता अभावको कारण र राष्ट्र बैंकले लगाएको चार र १२ करोडको सीमा कारण अधिकांश लगानीकर्ता बजारबाट बाहिरिएकाले बजार ओरालो लागेको उनीहरुको बुझाइ छ ।

पछिल्लो समय शेयर बजारमा ठूलो गिरावट आएसँगै डेढ खर्ब रुपैयाँ पुँजीकरण घटेको छ। गत हप्ता ४० खर्ब ८९ अर्ब रुपैयाँ रहेको पूँजीकरण आइतबार एकैदिन एक खर्ब ४५ अर्ब रुपैयाँले घटेर ३९ खर्ब ४४ अर्ब रुपैयाँमा सीमित भएको छ।

Logo