विदेशी पर्यटक भित्र्याउने नीति बनाउन पर्यटक व्यवसायीहरुको माग

विदेशी पर्यटक भित्र्याउने नीति बनाउन पर्यटक व्यवसायीहरुको माग

केन्द्रबिन्दु
0
Shares

पर्यटन व्यवसायीहरुले तत्काल विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारसँग माग गरेका छन् । 

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामा, पर्वतारोही सानु शेर्पा, ट्रेकिङ गाईड फुडोमा शेर्पालगायतका पर्यटन व्यवसायीहरुले विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने गरी नीतिगत निर्णय लिन सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् । 

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुले पर्यटकहरुलाई नेपाल आउने वातावरण बनाउन क्वारेन्टाईनमा नबस्ने व्यवस्था गर्न पनि सरकारलाई सुझाएका छन् । 

संघका अध्यक्ष लामाले पिसिआर टेष्ट गरेर आएका पर्यटकहरुलाई नेपालमा पनि पिसिआर टेष्ट गरी तत्काल गन्तब्यमा पुर्याउने व्यवस्था गर्न सरकारसँग आग्रह गरे । उनले पर्यटन क्षेत्र थला पर्दा पनि त्यसलाई उकास्ने विषयमा सरकारले अझै नीतिगत निर्णय नगरेकोमा असन्तुष्टि समेत व्यक्त गरे ।

संघले टुरिष्टहरुका लागि आवश्यक ट्राभल, ट्रेकिङ र होटलहरुको व्यवस्था मिलाउन सस्तो ब्याजदरमा ऋण प्रवाह गर्न पनि सरकारसँग आग्रह गरेको छ । 

यता, हिम आरोही सानु शेर्पाले १० दिनसम्म क्वारेन्टाईनमा बस्ने व्यवस्था गरेर विदेशी पर्यटकहरु नेपाल आउने अवस्था नआउनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् । 

ट्रेकिङ गाइड फूडोमा शेर्पाले विदेशी पर्यटकहरु नेपाल नआएकै कारण नेपालको पर्यटन क्षेत्र थला परेको बताइन् ।

पर्यटक व्यवसायीहरुले कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अघि बढ्दा नेपालको पर्यटन क्षेत्र फष्टाएर जानेतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।
 

Logo