महालेखाले तलब, भत्ताबाहेक रोक्यो बजेट निकासा

महालेखाले तलब, भत्ताबाहेक रोक्यो बजेट निकासा

केन्द्रबिन्दु
0
Shares

महालेखा नियन्त्रक कार्यालयले चालु आर्थिक वर्षको बजेटबाट तलब भत्ताबाहेक अन्य कुनै पनि रकम बिहीबारदेखि लागु हुने गरीे निकासा रोकेको छ।

महालेखाले बिहिबारदेखि तीन दिनसम्म तलब भत्ता बाहेकका चालु आर्थिक वर्षको बजेटबाट कुनै पनि रकम निकासा नगर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश इकाई कार्यालयहरुलाई पत्र लेख्दै बजेट निकासा रोक्न भनेको हो। 

महालेखाको पत्रमा भनिएको छ, ‘आर्थिक वर्ष २०७८/७९ को नेपाल सरकारको बजेट निकासा सम्बन्धमा तलब, भत्ता र निवृत्तिभरण बाहेकको कुनै पनि बजेट निकासा बिहीबारदेखि शनिबारसम्म नगराउनु होला ।’

चालु आर्थिक वर्षको पहिलो करिव दुई महिनाको अवधिमा निकासा भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने र निकासा गर्ने अधिकारी नै जिम्मेवार हुनेसमेत महालेखाले जनाएको छ । 

चालु खर्चतर्फ अनिवार्य दायित्व मानिने तलब, भत्ता, निवृत्तिभरण सहितका खर्च भने कानुनी रूपमा रोक्न मिल्दैन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटलाई परिमार्जन गरी वर्तमान सरकारले प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । 

विधेयकमा अध्यादेशमार्फत् ल्याएको बजेटमा प्रस्तुत भएका केही कार्यक्रमहरू सरकारले परिवर्तन गरेको छ । यसरी परिवर्तन भएका कार्यक्रम बजेट पास भएपछि कार्यान्वयनमा जान सक्दैन । 

यस्तो अवस्थामा निकासा भएको बजेट खर्च नहुने अवस्था सिर्जना हुन्छ । त्यसैले तत्कालका लागि अनिवार्य दायित्वबाहेकका सबै बजेट निकासा रोकिएको जनाएको  छ ।

अघिल्लो सरकारले चालु आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट ल्याएको छ । यसमध्ये अहिलेसम्म चालु खर्चतर्फ ४० अर्ब ८४ करोड र पूँजीगत खर्चतर्फ २ अर्ब २७ करोड रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ ।

Logo