नेपालको कुल प्रत्यक्ष वैदेशिक लगानी ८.५ प्रतिशतले बृद्धिः भारत र चीनको वर्चश्व

नेपालको कुल प्रत्यक्ष वैदेशिक लगानी ८.५ प्रतिशतले बृद्धिः भारत र चीनको वर्चश्व

केन्द्रबिन्दु
0
Shares

नेपालमा प्रत्यक्ष रूपमा भित्रिने कुल प्रत्यक्ष वैदेशिक लगानी आर्थिक वर्ष २०७६\७७ को अन्त्यसम्ममा ८.५ प्रतिशतले बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले बिहीबार प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६\७७ सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

सो अवधिमा कुल प्रत्यक्ष वैदेशिक लगानी ८.५ प्रतिशतले बढेर १ खर्ब ९८ अर्ब ५२ करोड पुगेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजी ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको ११.८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६\७७ को अन्त्यसम्ममा चुक्ता पुँजी २२.६ प्रतिशतले बढेकाले कुल वैदेशिक लगानी बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले सार्वजानिक गरेको सर्वेक्षण प्रतिवेदनअनुसार कुल लगानीको आधाभन्दा धेरै ५६ प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा आएको छ ।

औद्योगिक क्षेत्रमध्ये २८.३ प्रतिशत उत्पादनमुलक क्षेत्र र २७.५ प्रतिशत जलविद्धुत क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । त्यस्तै, सेवातर्फ आएको कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  

त्यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्म नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनले जनाएको छ । 

५२ देशमध्ये नेपालमा वैदेशिक लगानी गर्ने भारत र चीनको वर्चश्व रहेको छ । भारतबाट सबैभन्दा बढी ६२ अर्ब ४४ करोड, चीनबाट ३० अर्ब ९७ करोड , सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड, आयरल्याण्डबाट १२ अर्ब ९३ करोड र सिङ्गापुरबाट १२ अर्ब ४३ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । 

नेपालमा अष्ट्रेलिया, युनाइटेड अरब इमिरेट्स, अमेरिका, दक्षिण कोरिया र बंगलादेशलगायतका मुलुकहरुबाटसमेत वैदेशिक लगानी भित्रिएको छ ।

आर्थिक वर्ष ०७६\०७७ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १९८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन तयार राष्ट्र बैंकले जनाएको छ।

Logo