एमसीसी उपाध्यक्ष फातिमासँग ऊर्जामन्त्री भुसालकाे भेट

एमसीसी उपाध्यक्ष फातिमासँग ऊर्जामन्त्री भुसालकाे भेट

केन्द्रबिन्दु
0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फातिमा सुमारले शिष्टाचार भेट गरेकी छिन्। ऊर्जा मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दिगो आर्थिक विकास तथा एमसीसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भएको थियो।

भेटका अवसरमा उनीहरुबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने ५० कराेड डलर सहयोगको कार्यान्वयनका विषयमा छलफल भएको ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

उपाध्यक्ष सुमारले नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि नेपालको आग्रहमा एमसीसी सम्झौता भएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सहयोग गर्न आग्रह गरिन्। उनले एमसीसीका विषयमा नेपालमा भएका चर्चाका विविध विषयमा चासो व्यक्त गरेकी थिइन्।

जवाफमा मन्त्री भुसालले नेपाल–अमेरिकाबीच रहिआएको आपसी सम्बन्ध दरिलो रहेको उल्लेख गर्दै एमसीसीका सन्दर्भमा राजनीतिक सहमति र जनताको चाहनाअनुसार नै निष्कर्षमा पुगिने बताइन्। उनले नेपालले द्विपक्षीय एवं बहुपक्षीय दातृ निकायबाट सहयोग लिएर नै विकास प्रक्रियालाई अगाडि बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि अमेरिकाबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरिन्।

Logo