शेयर बजारको विकृति राेक्न र लगानीकर्ताको हित बारे अध्ययन भइरहेको छ: अर्थमन्त्री

शेयर बजारको विकृति राेक्न र लगानीकर्ताको हित बारे अध्ययन भइरहेको छ: अर्थमन्त्री

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताएका छन्। अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसङ्गतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिए।
 
सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरि छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विषयमा विवाद भएपछि सरकारले छानबनि समिति गठन गरेको छ। समितिलाई समग्र शेयर बजारको विकृतिबारे समेत अध्ययन गर्ने गरि कार्यादेश दिइएको छ। समितिमा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनककुमार खड्का सदस्य छन्।
 
पत्रकार सम्मेलनमा रु १२ करोडभन्दा बढी शेयर धितो कर्जा लिने १६२ जनाको हितका लागि काम गर्ने कि समग्र ४० लाख लगानीकर्ताको लागि काम गर्ने भन्ने प्रश्नमा अर्थमन्त्री शर्माले भने, “समग्र लगानीकर्ताको हितका लागि नै काम गर्नेगरि अध्ययन समितिले काम गरिरहेको छ।” उनले सो अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा शेयर बजारको सुधारको काम गरिने विश्वास दिलाए। 

कोरोना बीमामा भुक्तानीमा समस्या

कोरोना बीमा गरेका नागरिकले लामो समय भइसक्दा समेत भुक्तानी नपाएका कारण समस्यामा परेका छन्। अर्थमनत्री शर्माका अनुसार हालसम्म रु ११ अर्ब बराबरको बीमा भुक्तानीका लागि दावी परेको छ। भुक्तानीका लागि रकम अभाव भएको भन्दै भुक्तानी दिन रोकिएको छ। उनले कोरोना बीमा दाबी भुक्तानीको मात्रा ठूलो भएकाले सरकारलाई समस्या परेको बताए।

कोरोना बीमाको दायित्वअनुसार नेपाल पुनर्बीमा कम्पनी र बीमा समितिले रु तीन अर्ब ५० करोड बढी रकम बीमितलाई उपलब्ध गराएको भए पनि थप भुक्तानी हुन सकेको छैन। यस्तै, उनले सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन लागिएको जानकारी दिए। विद्युतीय सवारी साधनको बढावाका लागि नै मोटरसाइकलमा कर बढाइएको उल्लेख गरे।

राष्ट्रिय गौरवका आयोजनालाई प्रभावकारी बनाउछौँ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाइने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) का नवनिर्वाचित कार्यसमितिलाई आइतबार मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा उनले राष्ट्रिय महत्वका आयोजनाको कामको अनुगमनमा आर्थिक पत्रकारलाई पनि सहभागी गराइने बताए। “मन्त्रालयले अनुगमनमा तपाइँ पत्रकारहरुलाई संस्थागतरूपमा सहभागी गराउँछ, मन्त्रालयले अनुगमन संयन्त्र बनाउँदैछ, कर्मचारी मात्रै गएर अनुगमन प्रभावकारी हुँदैन। हामी सहकार्य गरेर जाऔँ, प्राप्त मूल्यवान समयको सदुपयोग गरौँ”, उनले भने।

सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक पत्रकारको दक्षता अभिवृद्धिका लागि अर्थ मन्त्रालयसँग सहकार्य गरेर अघि बढ्ने बताए। उनले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारिताका लागि अनुसन्धानको काममा पनि सेजनले अर्थ मन्त्रालयसँग साझेदारीका काम गर्न इच्छुक रहेको बताए। सो अवसरमा अर्थमन्त्री शर्माले खादाका साथ सेजन कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए।

सेजनका पूर्वअध्यक्ष भीम गौतमले अर्थ मन्त्रालयसँगको सहकार्यलाई आगामी दिनमा थप समन्वयका साथ अघि बढ्न सेजन नेतृत्व तयार रहेको र मन्त्रालयका कामलाई परिणाममुखी बनाउन आर्थिक पत्रकारको भूमिका प्रभावकारी हुने विश्वास दिलाए।

सेजनको भदौ १८ गते सम्पन्न २२औँ साधारणसभा तथा निर्वाचनमा अध्यक्षमा जनार्दन बराल, उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका थिए। त्यसैगरी कार्यसमिति सदस्यमा राससका सीबी अधिकारी, अच्युत पुरी, अमर बडुवाल, इशारा कोइराला र सोभित थपलिया निर्वाचित भएका थिए।

Logo