सञ्चय कोषले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्छः अर्थमन्त्री शर्मा

सञ्चय कोषले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्छः अर्थमन्त्री शर्मा

केन्द्रबिन्दु
0
Shares

कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरु उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । 

कोषको ६० औं बार्षिकोत्सव समारोहको भर्चुअल रुपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताए ।

सञ्चयकर्ताहरुको रकम कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, जसले राष्ट्रिय पूँजी निर्माणमा सहयोग पुर्याउँछ । अर्थमन्त्री शर्माले भने,‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सृजना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’ 

उनले सञ्चयकर्ताहरुको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए । 

मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र  कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई  सञ्चयकर्ताहरुको लागि सहज वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त गरे । 

सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७/७८ सम्म ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तिभरण कोषमा १ अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेकोे छ ।  

सामाजिक सुरक्षा योजनाअन्तरगत कोषले सञ्चयकर्ताहरुको लागि ७ हजार ५ सयका दरले २ पटकसम्म प्रसुति खर्च उपलब्ध गराउँछ ।

यस्तै सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा २ लाख  प्रदान गर्दछ । सञ्चयकर्ताको सेवाकालमा मृत्यु भएमा हकवालालाई एकमुष्ट ४० हजार काजक्रिया खर्च उपलब्ध गराउँछ । 

यसैगरी कोषले सामान्य औषधोपचारको हकमा १ लाख तथा घातक रोगको हकमा रु. १० लाखसम्मको उपचार खर्च शोधभर्ना गर्ने गरेको छ ।   

२०१९ साल भदौ १९ गते कोषको स्थापना हुनुभन्दा अगाडि वि.सं.१९९१ मा सैनिक द्रव्य कोष, २००१ मा निजामति प्रोभिडेण्ट फण्ड र २०१७ मा सञ्चयकोष विभागको नाममा यसको काम कार्वाही सञ्चालन गरिएको थियो ।      

Logo