केरूङ भन्सार पदाधिकारीविहीन, १० दिनदेखि दशैंलक्षित सामान भन्सारमा नै रोकिए

केरूङ भन्सार पदाधिकारीविहीन, १० दिनदेखि दशैंलक्षित सामान भन्सारमा नै रोकिए

केन्द्रबिन्दु
0
Shares

 नेपाल–चीन व्यापार सिमाको रसुवा भन्सार कार्यालय(केरूङ) पदाधिकारीविहीन भएको छ ।

चीनबाट काठमाडौंका लागि आएका सामानहरू भन्सारमा पदाधिकारी नहुँदा भन्सार पास हुन नसकेको छैन। 

पछिल्लो दश दिनदेखि केरूङ भन्सारबाट फलफूल तथा इलोक्ट्रोनिक सामानहरू मात्रैको भन्सार पास भएकाले अन्य व्यवसायीहरूलाई समस्या भएको व्यावसायीहरूले बताएका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले केरूङ भन्सारमा भन्सार पास गर्ने प्रमुख नभएको भन्दै १० दिनदेखि चीनबाट दशैंलक्षित गरी ल्याएका लत्ताकपडा तथा जुत्ता चप्पलहरू भन्सार नहुँदा नाकामा नै रोकिएको बताए ।

कोरोना महामारी रोकथामको लागि भएको लकडाउन तथा निषेधाज्ञाको कारण व्यावसायीहरू थला परेका छन्। पछिल्लो समय कोरोना महामारी नियन्त्रणका रहेको तथा नेपालीहरूको महान पर्व दशंै नजिकिएकाले केही व्यापार हुने आशाले चीनबाट सामान आयात गरिएको थियो । तर, आयात गरिएका सामान भन्सारमा नै रोकिएकाले काठमाडौंमा सामान आउन नसकेको अध्यक्ष कटुवाल बताउँछन्।

‘सरकारले कोरोना महामारीको कारण मारमा परेका व्यवसायीहरूलाई राहत दिनु पर्ने अवस्थामा आयात गरेको सामानसमेत भन्सारमै रोकेर राम्रो काम गरेन। भन्सार प्रमुखलाई फोन गर्न खोज्दा प्रमुखको फोन समेत अफ छ,’ उनले भने ।

अहिलेको सरकार जनताको लागि भन्दा पनि आफ्नालाई भागबण्डा पुर्याउने हिसाबले लागेकाले भन्सारमा सामान रोकिदा दशैंमा लत्ताकपडा तथा अन्य सामानको अभाव हुने संकेत देखिएको उनको भनाइ छ।

यता केरूङ विभागमा दुईजना विभागीय पदाधिकारी रहेको तर, दुबैजना काठमाडौंमा रहेकाले समस्या भएको भन्सार विभागले जनाएको छ।

केरूङ भन्सार विभाग प्रमुख रामप्रसाद रेग्मी काठमाडौंमा भदौ २८ गतेदेखि भन्सार व्यवस्थापन गोष्ठीमा भाग लिन आएको तथा अर्को एक जना केही दिन पहिले कोरोना पोजेटिभ भएर काठमाडौंमा उपचार भइरहेकाले केरूङ भन्सारमा समस्या आएको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए।

तर, विभागले केरूङमा भन्सार पास गर्ने पदाधिकारी नभएकाले समस्या आएको भन्ने गुनासो आएकाले आज नै विभागमा रहेका मौजुदा एक अधिकारीलाई आइतबार हाजिर हुने गरी भन्सारमा पठाइएको प्रवक्ता खड्काले बताए।

‘नाकामा दश दिनदेखि सामान रोकिएको छैन। एक जना कोरोना विरामी भएको र भन्सार प्रमुख गोष्ठीमा रहेकाले केही समस्या आएको हो। अब आइतबारदेखि रोकिएको सामान छुट्छन्,’ उनले भने ।

केरुङ नाकामा गत वर्ष पनि ६ महिनादेखि चीनबाट नेपाल भित्रिने सामान अलपत्र परेका थिए ।  

त्यतिबेला नेपालीले आयात गरेका मालसामान सीमापारि केरुङमा करिब ३ सय कन्टेनर थन्किएर बसेका थिए। 
 
 

Logo