१० असोजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ला हुँदै

१० असोजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ला हुँदै

केन्द्रबिन्दु
0
Shares

नेपालीहरूको महान पर्व दशै मनाउन काठमाडौं उपत्यकाबाट बाहिरी जिल्लामा जान यही असोज १० देखि अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ।

शुक्रबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यावसायीबीच भएको बैंठकले दशैंमा काठमाडौं उपत्यकाबाट देशका सबै क्षेत्रमा जानको लागि सार्वजनिक सवारीमा अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरिएको हो।

यसअघि यातायात व्यवस्था विभागले असोजको दोस्रो सातादेखि सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको थियो तर व्यवसायीहरू खासै सकारात्मक भएका थिएनन्।

दशैंमा उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बुकिङ असोज १० देखि खुल्ला गर्ने सहमति भएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले जानकारी दिए।

काठमाडौं उपत्यकाबाट दशैंमा सुरक्षित तवरले यात्रुलाई घरसम्म पुर्याउन सहजताको लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको महासचिव नेपालले बताए।

सरकारले लामो दुरीको सार्वजनिक यातायातमा भाडा समायोजन गरिसकेकाले दशैंमा घर जाने यात्रुलाई यातायात व्यवसायीको कारण समस्या नहोस् भनेर सहमति गरेर खुल्ला गर्न सहमत भएका छौं। उनले भने,‘सरकारसँग छोटो दुरीका सार्वजनिक यातायातको भाडा समायोजनको माग यथावत छ। यो पनि सरकारले केही दिनमा सार्वजनिक गर्नुपर्ने हाम्रो माग छ।’

कोरोनाको महामारी शुरु हुनअघि दशैंमा करिब २० देखि २५ लाख यात्रुले उपत्यका छाड्ने गरेका थिए । गत वर्ष भने सो संख्या आधा घटेको थियो । अहिले संक्रमणको लहर कम भएकाले यो वर्ष दशैंमा घर जानेको संख्या गत वर्षभन्दा धेरै हुने अनुमान गरिएको छ।

कोरोना महामारीको कारण गत वर्ष सरकारले अग्रिम टिकट बुकिङ खुल्ला गरेको थिएन । सरकारले अग्रिम टिकट खुल्ला नगर्दा दशैंमा सार्वजनिक सवारीमा हुने भीडभाडको मौका छोपी बढी भाडा लिएर ठगिने गरेका छन्।

ठगी रोक्न र सहजसँग घर जाने वातावरण मिलाउन यातायात व्यवसायीहरूले यात्रुको सहज यात्राको लागि अग्रिम टिकट खुल्ला गरिएको व्यवसायीले बताएका छन्। 

 

Logo