महासंघका अध्यक्ष गोल्छा र नविल बैंकका अध्यक्ष पौडेलसहित ३० उद्योगीलाई पदक

महासंघका अध्यक्ष गोल्छा र नविल बैंकका अध्यक्ष पौडेलसहित ३० उद्योगीलाई पदक

केन्द्रबिन्दु
0
Shares

संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९ सय ३ जनालाई विभिन्न विभूषण,  अलङ्कार  र पदक प्रदान गरेकी छिन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा  राष्ट्रपति भण्डारीले आइतबार विभूषण प्रदान गरेकी हुन् ।

यसरी संविधान दिवसका अवसरमा विभिन्न मानपदवी, अलंकार र पदकबाट उद्यमीमा ३० जना उद्योगी व्यवसायीहरुदेखि बैंकरसम्मलाई सम्मान गरेको छ।

विभूषित हुनेमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालसमेत रहेका छन् ।

गोल्छा र अग्रवाल दुबै जनलाई सुप्रवल जनसेवाश्री पदवीबाट विभूषित भएका छन्।

त्यस्तै, प्रभु समूहका अध्यक्ष तथा उद्यमी देवीप्रकाश भट्टचन, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार, पञ्चकन्या समूहका निर्देशक ध्रुवकुमार श्रेष्ठलगायतले सुकीर्तिमय राष्ट्रदीप पाएका छन्।

त्यस्तै,सुकीर्तिमय राष्ट्रदीप पदवी सञ्चार उद्यमी कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण पोष्टका अध्यक्ष रामेश्वर थापाले पनि पाएका छन्।

सरकारले सुप्रबल जनसेवाश्री नागरिक दैनिक र नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली, शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवाल, खेतान समूहका राजेन्द्रकुमार खेतान, शारडा समूहका अध्यक्ष शिवरतन शारडालाई सम्मानित गरेको छ।

प्रवल जनसेवाश्रीबाट सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड, शर्मा एण्ड शर्मा कम्पनीका रमेश शर्मा, सञ्जयकुमार खेतान, न्यौपाने समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, पर्यटन व्यवसायी राजु ढकाल, नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष एवं नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारी, ब्यवसायी गोविन्द गोयन्का, अर्जुनमान सैंजु, नारायण अग्रवाल, सत्यनारायण क्याल, कुञ्ज अग्रवाल सम्मानित भएका छन्।

यससँगै नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, बीमक सुनिलबल्लभ पन्त, बैंकर रबिना देशराज जोशी, बीमक दीपप्रकाश पाण्डे, शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल, चार्टर्ड एकाउन्टेन्ट नारायण बजाज, पर्यटन ब्यवसायी चिन्तामणि न्यौपाने, निर्माण व्यवसायी होमनाथ कोइराला, व्यवसायी देवकिसन मुन्दडा, सौरभ दुगड, कृष्णप्रसाद शर्मा र राधेश्याम हलुवाइ सम्मानित भएका छन्।

यसैगरी जनसेवाश्री पदकबाट आइडिया स्टुडियो, बैंकर दिलप्रसाद भट्ट, कृषि व्यवसायी अम्बरबहादुर बानियाँ, व्यवसायी कमलकिशोर मालपानी र राजेन्द्र मल्ल सम्मानित भएका छन्।

राष्ट्रपति भण्डारीले नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणीमा २४ जनालाई सम्मान गरेकी छिन्।

त्यस्तै, सुकीर्तिमय राष्ट्रदीप  तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Logo