नेप्सेको ओरालो यात्रा आइतबार पनि रोकिएन, ५५.९३ अंकले गिरावट

नेप्सेको ओरालो यात्रा आइतबार पनि रोकिएन, ५५.९३ अंकले गिरावट

केन्द्रबिन्दु
0
Shares

दुई हप्तादेखि निरन्तररूपमा ओरालो लागिरहेको नेप्से परिसूचक यात्राले आइतबार पनि निरन्तरता पाएको छ।

नेप्से परिसूचकमा भदौ दोस्रो साताबाट उतारचढाव सुरु भएर आजसम्म पनि रोकिएको छैन। गत भदौ २ गते नेपालकै इतिहासमा पहिलोपटक ३ हजार १९८.६० अंकमा पुगेर किर्तिमान बनाएको थियो । यो अंक अहिलेसम्मकै उच्च थियो। भदौ महिनामा नै कारोबार रकम पनि २१ अर्ब भन्दामाथि पुगेको थियो।

तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल राष्ट्र बैकले शेयर कर्जा धितोमा ४ करोडदेखि १२ करोड रुपैयाँको सीमा तोकेसँगै शेयर बजारमा असर परेको थियो।

भदौ २ गतेदेखि आइतबारसम्ममा ६ सय २१.१ अंकले गिरावट भएको छ। गत विहीबार ३२.५१ अंकले घटेको थियो । यसैको निरन्तरस्वरूप आइतबार नेप्से परिसूचक ५५.९३ अंकले घटेर २ हजार ५७७.५० अंकमा सीमित भएको छ।

आज कारोबारमा आएका २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४५ रुपैयाँमा कारोबार भएको छ। गत विहीबार ३ अर्ब ७० करोड बराबरको कारोबार भएको थियो।

कारोबारमा आएका २३२ कम्पनीमध्ये १७ वटा कम्पनीको मात्रै शेयर मूल्य बढेको छ। २०६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

नेप्से १३ उपसमूह मध्ये सबै राताम्मे भएका छन्। १३ मध्ये फाइनान्स, जलविद्युत् र होटल तथा पर्यटन समूहमा सबैभन्दा धेरै गिरावट आएको छ।

आज माइलुङ खोला जलविद्युत् कम्पनीको शेयरमा ९.९७ प्रतिशतको वृद्धि भएको छ भने स्वाभिमान लघुवित्तको शेयर मूल्य पनि बढेको छ। 

त्यसैगरी गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, राइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, माउन्टेन हाइड्रो नेपाल, छ्याङदी हाइड्रोपावर लगायतका कम्पनीको शेयर मूल्य घटेको छ।

त्यस्तै, अपि पावरको सबैभन्दा धेरै १५ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

नेशनल हाइड्रोपावरको १४ करोड २४ लाख रुपैयाँ, रिडि हाइड्रोको १४ करोड १० लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Logo