भाडा नबढेको भन्दै यातायात व्यवसायीले बन्द गरे सार्वजनिक बस, विहानैदेखि यात्रुलाई सास्ती

भाडा नबढेको भन्दै यातायात व्यवसायीले बन्द गरे सार्वजनिक बस, विहानैदेखि यात्रुलाई सास्ती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकाभित्र चल्ने अधिकांश सार्वजनिक यातायातका सवारी साधनहरु व्यवसायीहरुले आज सडकमा तेर्स्याएका छन्।

प्रदेश सरकारलाई बारम्बार भाडा समायोजन गर्न आग्रह गर्दा संघीय सरकारले बढाएको भाडासमेत लागू नगरेको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासंघको आव्हानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द गराएका छन्।

यता नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघसँग आवद्ध सवारी साधन भने चलिरहेका छन्। सोमबार विहानदेखि उपत्यकाभित्र चल्ने सवारी नचल्दा गन्तव्यमा पुग्ने यात्रुले गाडी नपाउँदा सास्ती खेप्नु परेको छ। थोरै मात्र सवारी साधन सञ्चालनमा आएकाले सञ्चालनमा आएका सवारी साधनमा यात्रुहरूको चाप अत्याधिक भएर बसमा यात्रु कोचिएर यात्रा गर्न बाध्य भएका छन्।

महासंघका महासचिव भरत नेपालले वाग्मती प्रदेश सरकारले प्रदेशस्तर र स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा नबढाएकाले व्यवसायीको माग पुरा नभएसम्म निरन्तर आन्दोलन गर्ने बताएका छन्।

महासचिव नेपालका अनुसार सोमबार सार्वजनिक सवारी सडकको किनारामा रोकेर सांकेतिकरुपमा विरोध प्रदर्शन गरिएको हो। 

उनले भने,‘सरकारले तोकेको भाडासमेत कार्यान्वयन नगर्ने, भाडा समय अनकूल बढाउन माग गर्दा नसुनेकाले सर्वसाधारणलाई मर्का परेता पनि आन्दोलन गर्ने बाध्य भएका छौं। यसको जिम्मेवार सरकारले लिनुपर्छ।’

संघीय सरकारले राष्ट्रियस्तरमा अन्तरप्रदेश चल्ने सवारीको गत असार २७ गते २८ प्रतिशतसम्म भाडा बढाएको थियो।

तर, काठमाडौं उपत्यका लगायत छोटो दूरीमा चल्ने सवारीको भाडावृद्धि भएको छैन। कानुनअनुसर छोटो रुटहरुमा चल्ने सार्वजनिक सवारीको भाडा समायोजनको अधिकार सम्बन्धित प्रदेश र स्थानीय तहहरुलाई रहेको छ ।

आफूहरुले सबै प्रदेश र सम्बन्धित स्थानीय तहमा भाडा समायोजनका लागि पटकपटक लिखित माग गरेता पनि प्रदेश सरकारले यातायात व्यवसायीको माग सुनुवाई नगरेकाले बाध्य भएर गाडी सडकमा साइट लगाउनु परेको महासचिव नेपालले बताए।

सरकारले भाडा नबढाएपछि हामी आफैं बढाउछौं भनेका थियौं। हामीले १५ गते नै नयाँ भाडादर स्वघोषणा गर्यौं, उनले भने,‘स्वघोषणा गर्दा हामीलाई धरपकड गरियो, सयभन्दा बढी सवारी प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसैले हामीले सेवा बन्द गरेका हौं।’

सरकारले तेलको मूल्य महिनामा तीन पटक बढाउँदा पनि गाडी भाडा नबढेकाले दिनभरी पुरानै भाडा दरमा भाडा उठाइरहनु पर्दा सवारीको सञ्चालन खर्च नउठ्ने अवस्था आएको महासंघले जनाउँदै आएको छ।

सोमवार बौद्धदेखि चाबहिलसम्म सिटी, पाँचपोखरी, बाबा गोकर्णेश्वर, बाबा महासागरलगायत बस व्यवसायी आन्दोलनमा छन्। 

बस व्यवसायी हड्तालमा उत्रिएपछि अहिले चक्रपथ, भक्तपुर चल्ने बसहरु ठप्प भएका छन्। बस ठप्प भएपछि यात्रुहरु भने अलपत्र परेका छन्।

Logo