पूँजीबजारको विद्यमान अवस्थाबारे सरोकारवालाहरुसँग पनि छलफल गर्न महासंघको आग्रह

पूँजीबजारको विद्यमान अवस्थाबारे सरोकारवालाहरुसँग पनि छलफल गर्न महासंघको आग्रह

केन्द्रबिन्दु
0
Shares

कोभिड १९ महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको वन्दावन्दीका कारण अर्थतन्त्रमा नकारात्मक असर पर्यो । नेपालको पूँजी बजार भने यस अवधिमा गतिशील रही पूँजीबजारको इतिहासमा सर्वाधिक राजस्वसमेत प्रदान गर्न सफल रह्यो भने आम लगानीकर्ताको पूँजी बजारप्रतिको विश्वास बढायो, जुन अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो ।

बजारमा प्रविधिको प्रयोग र बैंक वित्तिय संस्थामा अधिक तरलता रहँदा धेरै लगानीकर्ताले अवसर पाए । अहिले डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या नै करिब ४५ लाख नाघ्नुले यस तर्फ आकर्षण बढ्दै गएको देखाउँछ ।

मूलतः अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने बजारको स्वच्छ स्वस्थ र प्रतिष्पर्धी विस्तार एवं विकासका लागि नीतिगत स्थायित्व र प्रष्टता आवश्यक रहन्छ । केही समय यताको नीतिगत अस्थिरताका कारण पनि पूँजीबजारमा उतार चढाव आएको महसुस गरिएको छ ।

मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैँक तथा वित्तिय र बीमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, शेयर धितो कर्जामा लगाईएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचीकृत कम्पनीले आफ्नो आवश्कताअनुसार हकप्रद तथा अन्य विधिबाट पूँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नुपर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण शेयरबजारमा असर परेको देखिन्छ । 

शेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो साता यता समग्रमा पूँजी बजार ओरालो लागेको देखिन्छ । यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको देखिन्छ । उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने सम्बन्धित व्यवसायीहरुको माग रहेको छ ।

पूँजी बजारसम्बन्धी नीति नियम बनाउँदा सरोकारवालाहरुसँग पनि छलफल र विमर्श गर्न महासंघ सम्बन्धित सबैमा आग्रह गरेको छ । 

साथै पूँजी बजारमा जोखिम पनि रहने हुँदा लगानीकर्ताहरुलाई आफूले कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न हुन पनि महासंघ आग्रह गरेको छ । 

बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयाँ लगानीका साधन एवं उपकरण बढाउन पनि महासंघले सम्बन्धित निकायसमक्ष माग गरेको छ । 

त्यस्तै, पूँजी बजारकोे विकास एवं प्रवद्र्धनमा नियामक निकायलगायत अन्य सरोकारवालाको सकारात्मक भूमिका आवश्यक हुने हुँदा त्यसतर्फ सबैले योगदान गर्न पनि महासंघले आग्रह गरेको छ।

Logo