इच्छाराम तामाङसँगै ठगी गरेको आरोपमा पक्राउ पर्ने १२ जना सार्वजनिक

इच्छाराम तामाङसँगै ठगी गरेको आरोपमा पक्राउ पर्ने १२ जना सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगी गरेको आरोपमा प्रहरीले सिभिल बैंकका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई सोमबार पक्राउ गरेको छ ।

तर, तामाङले बैंकिङ कारोबारमा ठगी गरेको अहिलेको आरोप नयाँ भने होइन । विगत लामो समयदेखि उनीमाथिको ठगीको आरोपको उजुरी परिरहेका थिए ।

तर, प्रहरीले उजुरी पहिल्यै परे पनि सोमबार पक्राउ गरेको हो । एमालेबाट सविधानसभा सदस्यसमेत रहिसकेका सिभिल गु्रपका अध्यक्ष तामाङलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सोमबार  तामाङसहित सिभिल सहकारीका निक्षेपकर्ता ठगी आरोपमा १२ जनालाई पक्राउ गरेको थियो ।

तामाङ विरुद्ध ठगीको आरोपसहित विगत लामो समयदेखि प्रहरीमा उजुरीका खात लागेका थिए । तर, उनलाई ओली सरकारले बचाउँदा कारबाही हुन सकेको थिएन । 

ओलीको सरकार हटेको तीन महिना पुगेसँगै प्रहरीले धेरै कसरत गरेर सोमबार पक्राउ गरेको हो ।
तामाङ संविधानसभा सदस्य रहँदा अर्थ समितिमा रहेका थिए । तामाङ अर्थ समितिमा हुँदा दबाबमा नै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको विधेयक आफूअनुकूल संशोधन गर्न सफल भएका थिए ।

तामाङले कारोबारकै विषयमा विवाद हुँदा श्रीमतीसँग कानुनी रुपमा सम्बन्धविच्छेद गरेका थिए । पछिल्लो समय अप्ठेरो पर्दै गएपछि उनले आफ्नो सम्पत्ति पनि बेचेर निक्षेपकर्तालाई बुझाउँदै आएका थिए ।

सोमबार पक्राउ पर्नेहरूमा सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ इच्छाराजका मामा ससुरा हुन् । २०५७ सालमा तामाङको अध्यक्षतामा सिभिल क्रेडिट एन्ड सहकारी संस्था खोलिएको थियो । 

उनले २०६७ सालमा मामाससुरा केशवलाललाई अध्यक्ष बनाएका थिए । यसरी दुई जनाको मिलोमतोमा नै सहकारीमा ठगी हुँदै आएको खुलेको छ । सिभिल ग्रुपका नाममा अन्य कम्पनीसमेत छन् । 

अध्यक्ष तामाङले सिभिल होम्स, सिभिल इस्टेट्स र सिभिल अपार्टमेन्टको नाममा सहकारीबाट धितो नै नराखी ८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको अनुसन्धानले देखाएको छ ।

तामाङले चार पटक गरेर सहकारीबाट आफ्नो नजिक लगानी रहेका तीन कम्पनीको नाममा ऋण लिएका थिए । २०७५/७८ को अडिट रिपोर्टअनुसार ८ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी रकम ऋण लिएका थिए ।

पहिलो पटक ४ अर्ब ७२ करोड, दोस्रो पटक १ अर्ब ३० करोड, तेस्रो पटक १ अर्ब ५ करोड र चौथो पटक १ अर्ब ९५ करोड रुपैयाँ ऋण लिएको देखिएको प्रहरी अनुसन्धानले जनाएको छ ।

यसरी सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्षसमेत रहेका इच्छाराज तामाङसहित १२ जनालाई मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सार्वजनिक गरेको छ । 
तामाङ अध्यक्ष रहेको सिभिल सहकारीबाट ९० प्रतिशत ऋण आफैँ लिएर नतिरेको र रकम हिनामिना गरेको आरोपमा सीआईबीको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।

ठगीमा पक्राउ परेकाहरूः 
१.इच्छाराज तामाङः सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष, पूर्व संसद् एवं सिभिल बैंकको अध्यक्ष
२. केशवलाल श्रेष्ठ, सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका सञ्चालक समितिको अध्यक्ष 
३.भगवानबहादुर सिंहः सहजकर्ता प्रबन्धक  
४.मायोनानी महर्जनः जुनियर असिस्टेन्ट मेनेजर  
५.एलिना तुलाधरः जुनियर असिस्टेन्ट मेनेजर  
६ शंकरप्रसाद पाठकः जुनियर अधिकृत
७.संगीत श्रेष्ठः असिस्टेन्ट  
८ राकेश महर्जन: लेखा अधिकृत 
९.बुद्धराज तामाङः जुनियर सहायक प्रबन्धक 
१०.कौस्तुभकेतन ढुंगाना: जुनियर सहायक प्रबन्धक
११. विजयविक्रम शाहः सिभिल होम्सका वरिष्ठ प्रबन्धक
१२. हरिहर लामिछानेः पूर्वलेखा समिति सदस्य

Logo