कैलालीमा बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

कैलालीमा बजार अनुगमन नहुँदा उपभोक्ता मारमा

केन्द्रबिन्दु
0
Shares

कैलाली जिल्लामा सरोकारवालाहरुले बजार अनुगमनमा चासो नदिँदा उपभोक्ता मारमा परेका छन् ।
 
बजारमा गैरकानूनी रूपमा औषधि, खाद्य तथा पेय पदार्थ जस्ता वस्तु बिक्री हुने गरेको तर बजार अनुगमन निर्देशिकामा नियमित अनुगमन गरिने व्यवस्था उल्लेख गरिए पनि प्रभावकारी भने हुन नसकेकोले आम उपभोक्ताहरु मारमा परेका हुन् ।

यतिबेला अनुगमनको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई भएपनि अनुगमन नभएको राष्ट्रिय उपभोक्ता संरक्षण मञ्च कैलाली संयोजक हरि रेग्मीले बताए । उनले बजारमा म्याद गुज्रिएको सामान उल्लेख्य परिमाणमा भएपनि अनुगमन नहुँदा उपभोक्ता ठगिँदै आइरहेको दाबी गरे ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दसैँ, तिहार र छठ जस्ता महान चाडहरुमा माग बढ्ने भएकोले बजारमा विभिन्न सामग्रीहरुको मूल्यवृद्धि हुन सक्ने बताए । उनले यसलाई ध्यानमा राखेर संयुक्त अनुगमन टोली बनाएर बजार अनुगमन गरिरहेको बताए ।

सूचना अधिकारी जोशीले अनुगमनका क्रममा ४ वटा पसलमा १७ हजारभन्दा बढीको म्याद सकिएको सामग्री पाइएकोले तत्काल फिर्ता गर्न लगाइएको पनि जानकारी दिए ।

उपभोक्ता हित संरक्षण शाखा धनगढी उपमहानगरपालिकाका संयोजक योगेन्द्रबहादुर चन्दले स्थानीय तहहरुले बजार अनुगमन निर्देशिका बनाएर संयुक्त रुपमा अनुगमन गरिरहेको बताए । उनले वस्तु वा सेवा प्रदायक व्यवसायको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, नापतौल, विज्ञापनलगायत व्यापारिक क्रियाकलापको नियमित तथा आकस्मिक अनुगमन गर्न अनुगमन टोली गठन गरेर अव्यवस्थित पसलहरुलाई व्यवस्थापन गरेको पनि बताए ।

स्थानीय तह, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, घरेलु तथा साना उद्योग विकास समिति, कर कार्यालय, जिल्ला प्रशासन, वाणिज्य संघलगायत पछिल्लो समय अनुगमन कार्यमा मौन रहेको उपभोक्ताहरुको गुनासो छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अव दैनिक रुपमा बजार अनुगमन गरिने जानकारी दिए । 

Logo