नारायणगढ-मुग्लिन सडकखण्डकाे चाैधकिलाेमा तिहारपछि मात्र सडक मर्मत हुने

नारायणगढ-मुग्लिन सडकखण्डकाे चाैधकिलाेमा तिहारपछि मात्र सडक मर्मत हुने

केन्द्रबिन्दु
0
Shares

दसैँमा राजधानी काठमाडौंबाट जिल्ला/गाउँ जाने र फर्किनेकाे चाप ह्वात्तै बढेकाे छ। तर, उपत्यकाबाट बाहिरिने मुख्य सडक मार्गकाे हालत बेहाल छ।

तीन वर्षअघि विस्तार भएकाे नारायणगढ-मुग्लिन सडक तीन ठाउँमा भासिएको छ। भासिएकाे मध्ये चाैधकिलाे क्षेत्रमा त मर्मतकाे काम सुरु नै भएकाे छैन। बाँकी दुई ठाउँमध्ये सत्रकिलो क्षेत्रमा मर्मत भए पनि छब्बिसकिलाे क्षेत्रमा खाल्टा पुर्ने काम अझै सकिएकाे छैन।

चाैधकिलाे क्षेत्रमा वर्खामा भाँसिएकाे सडक मर्मतकाे काम तिहारपछि मात्र हुने सडक डिभिजन भरतपुरका सूचना अधिकारी शिव खनालले बताए। 'मर्मतका लागि टेण्डर आह्वान भएकाे छ। तिहारपछि मर्मतकाे काम सुरु हुन्छ,’ उनले भने।

चौधकिलो, सेती दोभान लगायतका स्थानमा कालाेपत्रे भत्किएर ठूल्ठूला खाल्टाखुल्टी परेका छन्। यद्यपि सानातिना खाल्टा त्यसअघि डिभिजनले स्थानीय निर्माण सामग्री प्रयोग गरेर पुर्ने उनले दाबी गरे। दसैँतिहारमा खाल्टाखुल्टी पुर्न र सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय चितवनमा छलफल भएकाे छ। 

खाल्टाखुल्टी भएको ठाउँमा सवारीसाधन बिग्रिएमा तत्काल पन्छाउन पनि कुनै उपाय अबलम्बन गरिएकाे छैन। खनालकाअनुसार दुई वर्ष अगाडि सत्रकिलो र छब्बिसकिलोमा भासिएको सडक मर्मतकाे काम नारायणगढ-मुग्लिन सडक आयोजनाले गर्दैछ। 

सडकमा पहिरो रोक्न करिब ६० हजार वर्गमिटर क्षेत्रमा रक नेटिङ गरिएको छ। सेती दोभानमा गएको बर्खामा रक नेटिङ गरिएको ६० वर्गमिटर जति क्षेत्रमा पनि पहिरो गएको छ। 

नारायणगढ-मुग्लिन सडकमा दैनिक सानाठूला गरी १५ हजार सवारीसाधन गुड्छन्। तर, दसैंँ सुरु भएसँगै याे संख्या अझ बढ्न थालेकाे ट्राफिक प्रहरीकाे भनाइ छ। 

पृथ्वी राजमार्गअन्तर्गतको चितवन र धादिङको सिमानामा पर्ने जोगिमारा र जवाङ खोला नजिक शाखा सडककाे हालत पनि उस्तै छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौविसेमा सधैँजसो गाडीको जाम लाग्ने गर्छ। सुरुङ मार्ग बनाउन लागिएकाले त्यस स्थानमा यात्रुले बढी सास्ती खेप्न बाध्य छन्।

Logo