काठमाडौं महानगरद्वारा तिहार तथा छठ पर्व लक्षित बजार अनुगमनलाई एकीकृत बनाइने

काठमाडौं महानगरद्वारा तिहार तथा छठ पर्व लक्षित बजार अनुगमनलाई एकीकृत बनाइने

केन्द्रबिन्दु
0
Shares

तिहार तथा छठ पर्व लक्षित काठमाडौं महानगर क्षेत्रको  बजारलाई एकीकृत अनुगमनका माध्यमबाट व्यवस्थापन गरिने भएको छ । 

शुक्रवार काठमाडौँ महानगरकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । अनुगमनका क्रममा खाद्यान्न, तरकारी, मरमसला तथा भाइ मसलाका सामान र फलफूल, फूल र मालासहित कृषिजन्य सामाग्री, माछा, मासु, दूध तथा दुग्धजन्य खाद्यवस्तुको मूल्य र गुणस्तर हेरिनेछ ।  

अनुगमन गर्ने निकाय धेरै भएकोले दिनदिनै अनुगमन टोली व्यापारीकोमा पुग्दा उनीहरूले असजिलो महसुस गर्न सक्छन् । हाम्रो लक्ष्य कसैलाई असजिलो महसुस गराउने होइन । बैठकका अध्यक्ष उपप्रमुख खड्गी श्रेष्ठले भनिन्, ‘सेवा र बस्तुको गुणस्तर तथा मूल्यलाई व्यवस्थित गर्ने हाम्रो लक्ष्य हो । स्वच्छ बजार व्यवस्थापनका लागि गरिने अनुगमनले उचित व्यापारिक क्रियाकलाप गर्नेलाई समस्या नपरोस्।’

वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभागका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मीसहितको संयुक्त टोली बनाएर अनुगमन गर्ने भएको छ।

बैठकमा दसैँका बेला महानगरले गरेको अनुगमनको समीक्षा गरिएको थियो । त्यस क्रममा कृषि विभागका प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले खाद्यान्न, तरकारी, फलफूललगायत खाद्यवस्तु र पशु सेवा महाशाखाका प्रमुख एवं निरीक्षण अधिकृत वरिष्ठ पशु चिकित्सक डा. अवधेश झाले चौपाया बजार र पशुजन्य खाद्यवस्तु सम्बन्धी कामको विवरण प्रस्तुत गरेका थिए।

भण्डारीका अनुसार १४ दिनमा ३० वटा व्यापारिक फर्म तथा प्रतिष्ठानमा अनुगमन गरिएको थियो । जसमध्ये एक तरकारी व्यापारीलाई २० हजार रुपैयाँ र एक किरानासहित दुग्ध तथा अन्य खाद्य बस्तुको व्यापार गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना गराइएको थियो । 

डा झाका अनुसार यस वर्ष दशैका लागि काठमाडौँ उपत्यकामा ९ सय ६२ वटा कुखुरा, १ हजार ४ सय २२ हाँससहित ५५ हजार २ सय ९३ वटा पशुपक्षीको स्वास्थ्य परीक्षण गरिएको थियो । 

जसमध्ये कलंकी खसी बजारमा १५ वटा र टुकुचा खसी बजारमा ३ वटा गरी १८ वटा मृत खसी बोका गाडिएको थियो । १९६ वटा बिरामी चौपाया पाइएको थियो । जसमध्ये ८ वटाको उपचार नै गरिएको थियो भने बाँकीलाई निश्चित समयसम्म विक्री रोक्का राखेर स्वच्छ भएपछि विक्री गर्न दिइएको थियो । 

समितिले पर्व विशेष अनुगमनसँगै नियमित अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको छ । 

Logo