७५ प्रतिशतले घट्यो झिलिमिली बत्तीको आयात, १५ प्रतिशतले बढ्यो मूल्य

७५ प्रतिशतले घट्यो झिलिमिली बत्तीको आयात, १५ प्रतिशतले बढ्यो मूल्य

केन्द्रबिन्दु
0
Shares

नेपालीहरूको दोस्रो महान् पर्व तिहार नजिकिएको छ। तिहार भन्ने बित्तिकै झिलिमिली बत्ती तथा फूल मालाको पर्वको रूपमा लिने गरिन्छ। तिहार झिलिमिली बत्तीको पर्व भएकाले तिहारमा झिलिमिली बत्तीको अत्याधिक प्रयोग हुने गरेको छ।

तर, यो वर्ष विगतका वर्षहरूको जस्तो तिहारका लागि लक्षित गरेर ल्याइने झिलिमिली बत्ती (फेस्टिभल लाइट) बजारमा कमी हुने भएको छ। कोरोना महामारी प्रभाव र चिनियाँ नाका असहज अवस्था भएका कारण झिलिमिली बत्ती आयात विगतका वर्षहरूमा भन्दा कम भएको व्यवसायीहरूले बताएका छन्।

नेपाल विद्युतीय व्यवसायी महासंघका अनुसार गत वर्षको भन्दा यो वर्षको तिहारलक्षित फेस्टिभ लाइटको आयात २५ प्रतिशत मात्रै आयात हुने भएको छ। २५ प्रतिशत मात्रै आयात भएमा वर्षको भन्दा ७५ प्रतिशतले आयात घटेको महासंघले जनाएको छ। 

तिहार लागेसँगै सहरी क्षेत्र तथा गाउँघरका घर–पसल सजाउन झिलिमिली बत्तीको प्रयोग बढ्ने गरेको छ। तर, यस वर्ष पनि कोरोना संक्रमणका कारण मानिसहरूको आर्थिक अवस्था कमजोर भएकाले तिहारको किनमेलमा उपभोक्ताको उत्साह नभएकाले बजारमा झिलिमिली बत्तीको व्यापार नभएको  व्यवसायीहरूको भनाइ छ।

तिहारमा बत्तीको आयात ७५ प्रतिशत नै कम भएकाले फेस्टिभ लाइटको मूल्यसमेत महँगिएर आएको व्यवसायीहरूले बताएका छन्। 

नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले यो वर्षको तिहारमा चिनियाँ नाकामा असहजताका कारण फेस्टिभ लाइट कमी आएको बताए। उनका अनुसार अघिल्लो वर्षको तुलनामा फेस्टिभ लाइट बत्ती आयात २५ प्रतिशतले कम भएको र तिहार नजिकै आएकाले  अब यो भन्दा माथि बढ्ने सम्भावनासमेत छैन। 

उनले भने,‘अघिल्ला दुई वर्षमा कोरोना महामारीले उच्च समस्या रहेको अवस्थामा बजारमा चहलपहल रहेको थियो। तर, यो वर्ष विगतको वर्षको जस्तो बजारमा बत्ती किन्नेको रौनक छैन। यो वर्षको दशैंमा समेत मानिसहरूमा रौनक नदेखिएकाले तिहारमा पनि विगतको जस्तो बजार चलायमान नहुने देखिन्छ।’

कोरोना महामारीका कारण गतवर्ष पनि फेस्टिभ लाइटको आयात निकै प्रभावित भएको थियो। तर, गत वर्ष प्रभावित भए पनि तिहारका लागि ५० करोड रुपैयाँको फेस्टिभ लाइट आयात भएको थियो। 

यो वर्ष अहिलेसम्म करिब १२ करोड रुपैयाँ बराबरको मात्र झिलिमिली बत्ती आयात भएको छ। यसरी हेर्दा विगतमा ५० करोडसम्म आयात हुने गरेको तुलनामा हेर्दा अझ १० प्रतिशतको हाराहारी मात्रै आयात भएको पाइन्छ।

नेपालमा चीन र भारत दुई देशबाट तिहारका लागि झिलिमिली बत्ती आयात हुने गरेको छ। तर, कोरोना महामारीको कारण दुई वर्षयता दुवै देशबाट फेस्टिभल लाइटको आयात कम हुँदै गएको अध्यक्ष पौडेलले बताए। 

अध्यक्ष पौडेलका अनुसार नेपालमा तिहारका लागि तीन महिनाअघि नै चीनका व्यवसायीसँग लाइटको अर्डर गरिसक्नु पर्छ। यो वर्ष नाकामा समस्या भएको तथा नेपालमा पुनः लकडाउन हुने हल्लाको कारण व्यापारीहरूले अर्डर नै कम भएको उनले बताए।

नेपालमा भित्रिने अधिकांश बत्तीहरू चीनबाट आउँछन्। यसकारण उत्तरी नाका असहज भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको आयात यो वर्ष अत्यन्त न्यून देखिएको अध्यक्ष पौडेलको भनाइ छ। अध्यक्ष पौडेलका अनुसार अझै यो वर्ष चिनियाँ नाकामा समस्या भएकाले कतिपय व्यवसायीले भारतीय नाकाबाट सामान ल्याएको बताए।

कोरोनाका कारण देखाउँदै चीन सरकारले नाकामा कडाइ गर्दै आएको छ। नाकामा कडाइ गर्दा सीमित मात्रामा कन्टेनर नेपाल आउने गरेका छन्। त्यसैले यो वर्ष भारतबाट धेरै सामान आयात भएकाले भारतीय मार्ग भएर सामान ल्याउँदा कन्टेनर भाडा महँगो छ। 

ढुवानी भाडा अत्याधिक बढेका कारण लाइट आयात गरेर बिक्री गर्न मूल्यकै कारण समस्या भएको ललितपुरको इमाडोलमा इलेक्ट्रोनिक व्यापार गर्दै आएको व्यवसायी सागर श्रेष्ठले बताए। उनका अनुसार विगतको वर्षको भन्दा यो वर्ष तिहारमा झिलिमिली बत्ती जडान गर्ने उपभोक्तासमेत कम भएको छ। उनले भने,‘विगतमा तिहार लाग्नुभन्दा एक साता अघिदेखि बत्ती बिक्री गर्ने जडानको लागि फुर्सद हुँदै गरेको थिएन। तर, यो वर्ष त्यस्तै अवस्था आउने नदेखिएको बताए। अहिले बत्तीको मूल्य समेत बढेर आएकाले उपभोक्ताले पुरानै बत्ती प्रयोग गर्ने देखिएको उनको भनाइ छ।

व्यवसायी आफैं चीन जान कोभिडको समस्या

तिहारको लागि झिलिमिली बत्ती आयात गर्नेको लागि कोरोना महामारीभन्दा अगाडि व्यवसायी आफैं जाने गरेका थिए। तर, कोरोना महामारीको कारण पछिल्लो दुई वर्षदेखि व्यवसायी आफैं चीन जाने अवस्था छैन। त्यसैले पनि बत्ती आयात कम हुँदै गएको छ।

सामान आयात गर्नको लागि व्यापारीहरूले सामाजिक सञ्जालमार्फत फोटो हेरेर र फोनमा कुरा गरेको आधारमा सामान अर्डर गर्ने गरेको महासंघका अध्यक्ष पौडेलले बताए। यसरी सामाजिक सञ्जालमार्फत फोटा हेरेर सामानै नहेरी बत्ती आयात गर्दा लाइटको गुणस्तर जाँच गर्न नपाएको उनको भनाइ छ।

तिहारका लागि ल्याएको फेस्टिभ लाइट यो वर्ष बिक्री भएन भने एक वर्ष कुर्नु पर्ने हुन्छ। यो बत्ती तिहारमा मात्रै चल्ने आइटम हो। उपभोक्ताले तिहारमा बाल्न नयाँ डिजाइनका लाइटहरू खोज्छन्। बिक्री नभएको लाइट एक वर्षसम्म स्टक राख्दा नोक्सान हुने सम्भावना धेरै हुने समेत गरेको पौडेलको भनाइ छ।

फेस्टिभ लाइटको माग घट्दै

विगतका वर्षहरूको भन्दा पछिल्लो समय फेस्टिभ लाइटको माग घट्दै गएको महासंघले जनाएको छ। पहिले पहिले झिलिमिली बत्तीको प्रयोगमा माटाको पालाको प्रयोग गर्ने गरिन्थ्यो। तर, पालाको प्रयोग पनि विस्तारै घट्दै आएको छ। 

यसरी पालाको प्रयोग घट्दै जाँदा विद्युतीय सामानको खपत बढ्नु पर्ने हो। तर, यसको प्रयोग पनि खासै बढ्न भने सकेको छैन। तिहारमा होटल रेस्टुरेन्टदेखि सपिङ मल तथा घरहरू लगायत सहर नै झिलिमिली बत्तीले सजिने गरेका छन्। अझ नेपालमा लोडसेडिङ अन्त्य भएसँगै झिलिमिली बत्तीले बढी सहरहरू सजिने गरेका छन्।

तर, यो वर्ष त्यस्तो रौनक नदेखिएको व्यवसायीहरूले बताएका छन्। उनीहरूका अनुसार अहिलेसम्म भने खासै  झिलिमिली बत्तीको व्यापार भएको छैन।

विगतका वर्षमा बजारमा दसैँअघि नै झिलिमिलीका होलसेल पसलहरूमा चहलपहल बढ्ने गरेको थियो तर,यो वर्ष तिहार आउने एक साता मात्रै बाँकी रहेको अवस्थामा समेत होलसेल पसल तथा अन्य पसलमा मानिसहरूको भिडभाड बढ्न नबढेको महासंघका अध्यक्ष पौडेल बताउँछन्।

तिहारमा बिक्री हुने इलेक्ट्रिक लाइट ६० प्रतिशत बाहिरी जिल्ला र ४० प्रतिशत काठमाडौं उपत्यकाभित्र खपत हुने गरेको महासंघले जनाएको छ। महासंघका अनुसार नेपालमा तिहारलाई आवश्यक बत्तीहरू सबैभन्दा धेरै चीनबाट ९० प्रतिशत र भारतबाट १० प्रतिशत मात्रै फेस्टिभ लाइट्स आयात हुने गरेको छ।

झिलिमिली बत्तीको मूल्य १०  देखि १५ प्रतिशतसम्म बढ्यो 

विगतको वर्षहरूमा भन्दा यो वर्ष झिलिमिली बत्तिको आयात निकै कम भएकाले बत्तीको मूल्य १० देखि १५ प्रतिशत बढेको व्यवसायीहरूले बताएका छन्। तिहारको लागि आयात गरिएको चीनमा नै मूल्य बढेर आएका कारण बजारमा अहिलेको मूल्यमा कम्तीमा १० देखि १५ प्रतिशतसम्म महँगिएको महासंघका अध्यक्ष पौडेलले केन्द्रबिन्दुलाई बताए।

उनका अनुसार यो वर्ष चीनबाट बत्ती कम आयात भएको र  भारतको बन्दरगाह हुँदै आयात गरिएको सामानको ढुवानी भाडा महँगो भएको कारण त्यसको असर नेपाली बजारमा परेको छ। तिहारमा विशेष गरेर  पाइप लाइट, लक्ष्मी गणेशको बल्ने मूर्ति, नेट झालर, स्ट्रिप लाइट, विद्युतीय दीयो, विद्युतीय फोटो लगायतको प्रयोग बढी हुने गरेको छ।

व्यवसायीहरूका अनुसार, अहिले नेपाली बजारमा १०० रुपैंयाँदेखि दुई हजार रुपैयाँसम्मका झिलिमिली बत्ती उपलब्ध रहेको बताएका छन्।

Logo