विद्युतीय सवारी प्रयोग गरौँ व्यापार घाटा कम हुन्छ: ऊर्जा मन्त्री भुसाल

विद्युतीय सवारी प्रयोग गरौँ व्यापार घाटा कम हुन्छ: ऊर्जा मन्त्री भुसाल

केन्द्रबिन्दु
0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युतीय सवारी साधन प्रयोग गर्न आह्वान गरेकी छन् । मन्त्री भुसालले मुलुकको व्यापार घाटालाई कम गर्न, मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र स्वच्छ वातावरणसहितको समुन्नत राष्ट्र निर्माण गर्नका लागि पनि अब सबैले विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने स्पष्ट पारिन् ।

शनिवार ललितपुरको जावलाखेलबाट विद्युतीय सवारी साधन र्‍यालीको शुभारम्भ गर्दै उनले विद्युतीय सवारी साधन सबैभन्दा सस्तो हुने र त्यसका लागि आवश्यक विद्युत् मुलुकभित्रै पर्याप्त मात्रामा रहेको बताइन् । मन्त्री भुसालले पेट्रोलियम पदार्थको खरिदबाट मुलुकमा व्यापार घाटा हुने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्दै लैजान पनि विद्युत्बाट चल्ने सवारी साधनको प्रयोग आवश्यक रहेको स्मरण गराए ।

‘विद्युत्मा हामी आत्मनिर्भर भएका छौँ । र देशका सबै क्षेत्रमा चाहे घरायसी होस, चाहे उद्योग र यातायात क्षेत्रका लागि होस् । त्यसलाई दिने ऊर्जा हामीसँग छ । दोस्रो हाम्रो ठूलो व्यापार घाटा आयोजित पेट्रोलियम पदार्थको कारणले भएको छ । २ खर्ब रुपैयाँभन्दा बढी पेट्रोलियम पदार्थको आयात हुन्छ । ४० अर्बभन्दा बढी एलपी ग्यास आयात हुन्छ । यसलाई केवल विस्थापित गर्न सक्ने भनेको विद्युतीय ऊर्जा हो । त्यसैले यो असन्तुलित व्यापार घाटालाई कम गर्न र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउन सबैले विद्युत् सवारी साधनको प्रयोग गरौँ । र राष्ट्रिय अर्थतन्त्रमा योगदान गरौँ । यो आफैँमा सस्तो छ,’ उनले भनिन् ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालभित्रै इनर्जीको खपत गर्न र नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारिन् । विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेसनहरुको व्यवस्था हुने बताए ।

र्‍यालीमा मुलुकलाई आत्मनिर्भर बनाउन, स्वच्छ वातावरणको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन विद्युतीय सवारी साधन सञ्चालन गर्न उपयुक्त हुने खालको सन्देशसहितको प्लेकार्डहरू प्रदर्शन गरिएका थिए ।

Logo