दुई महिनामा २७ कमर्सियल बैंकको नाफा १३ अर्ब ६६ करोड, कुन बैंकले कति कमाए?

दुई महिनामा २७ कमर्सियल बैंकको नाफा १३ अर्ब ६६ करोड, कुन बैंकले कति कमाए?

केन्द्रबिन्दु
0
Shares

नेपालमा सञ्चालित २७ वटा कमर्सियल बैंकले चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा १३ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका छन्।

नेपाल राष्ट्र बैंकको पछिल्लो हप्ता सार्वजनिक विवरण अनुसार २७ वाणिज्य बैंकले उक्त नाफा आर्जन गरेका हुन्। बैंकहरूको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अधिकांश बैंकले राम्रै नाफा आर्जन गरेका थिए। चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ। 

राष्ट्रिय वाणिज्य बैंकले उक्त दुई महिनाको अवधिमा १ अर्ब ६ करोड ८८ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, सबैभन्दा धेरै नाफा आर्जन गर्ने दोस्रो बैंकमा ग्लोबल आइएमई बैंक भएको छ। बैंकले पनि पछिल्लो दुई महिनाको अवधिमा ९८ करोड ५२ लाख नाफा आर्जन गरेको छ । 

यता, धेरै नाफा आर्जन गर्ने तेस्रोमा भने नबिल बैंक बनेको छ। यस बैंकले उक्त दुई महिनाको अवधिमा ९३ करोड ४५ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको राष्ट्रको विवरणमा उल्लेख रहेको छ। 

दुई महिनाको अवधिका सबैभन्दा कम नाफा कमाउने बैंकमा नेपाल बैंक रहेको छ। नेपाल बैंकले जम्मा १५ करोड ९४ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ। त्यस्तै, थोरै नाफा आर्जन गर्ने दोस्रो बैंकमा सिभिल बैंक भएको छ। बैंकले १९ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

त्यस्तै, एनआईसी एसिया बैंकले ८१ करोड ६१ लाख, कृषि विकास बैंकले ७८ करोड ४८ लाख ९० हजार, सिद्धार्थ बैंकले ७५ करोड ५२ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।

त्यस्तै, नेपाल बंगलादेश बैंकले २८ करोड ३१ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूले २१ करोड ५४ लाख, सेञ्चुरी बैंकले २१ करोड १३ लाख, नेपाल एसबीआई बैंकले २३ करोड १८ लाख, नाफा आर्जन गरेको छ।

पछिल्लो समय कोरोना महामारीको अवस्थामा समेत बैंकहरूले राम्रै नाफा आर्जन गरिरहेका छन्। कोरोना महामारीको पहिलो वर्ष करिव ८ महिना बैंकले लगानी बढाउन सकेनन्। तर, पछिल्लो समय कोरोना महामारी कायम रहँदा पनि बैंकहरूले लगानी बढाउँदै गएका छन्।

बैंकहरूले लगानी अत्याधिक बढाएका कारण पछिल्लो ६ महिनादेखि बैंकिङ प्रणालीमा तरलताको हाहाकार रहेको छ। तरलता कम गर्नका लागि नेपाल राष्ट्र बैंकले निरन्तररुपमा रिपो जारी गर्दै आएको छ। बैंकहरुले पछिल्लो समय निक्षेपमा ब्याजदर बढाएर निक्षेप बढाउने योजना बढे पनि बैंकले अपेक्षा गरेजस्तो निक्षेप संकलन गर्न सकेका छैनन्।

तर पनि बैंकमा निक्षेप संकलन न्युन देखिएको छ भने कर्जाको माग बढ्दै गएको छ। यसरी बैंकहरुले ब्याजदरलाई हतियार बनाउन थालेसँगै राष्ट्र बैंकले ब्याजदरको सीमा आफैं निर्धारण गरेको छ।

Logo