तिहार विशेषः यो वर्ष भाइमसलाको मूल्य नबढ्ने

तिहार विशेषः यो वर्ष भाइमसलाको मूल्य नबढ्ने

केन्द्रबिन्दु
0
Shares

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिएको छ। यससँगै बजारमा चहलपहल पनि बढ्न थालेको छ। तिहारलाई झिलीमिली तथा उज्यालो पर्वको रूपमा लिइन्छ। तिहार लागेसँगै गाउँघरदेखि शहरबजार झिलीमिली बत्ती र फूलैफूलले सजिने गर्छन्।

तिहारमा झिलीमिली बत्ती, सयपत्री, मखमली फूलको माला, माटोको पाला र भाइमसलाको व्यापार बढ्ने गरेको छ। त्यही अनुसार बजारमा व्यवसायीहरू पनि व्यापारको तयारीमा जुटेका छन्।अहिले काठमाडौंका मुख्य बजार क्षेत्रमा भाइमसला बेच्ने किराना पसलहरूले भाइमसला बनाएर तयारी गरिरहेका छन्।

तिहारमा अत्यावश्यक मानिने भाइमसला सबैभन्दा बढी खपत हुने वस्तु हो। भाइमसला तिहारमा मात्रै बिक्रिवितरण हुने गरेको छ। नेपाल खुद्रा व्यापार संघका अनुसार तिहारमा मात्रै भाइमसलाको खपत ५० प्रतिशत भन्दा बढी हुने गरेको छ। तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर अनिवार्यरूपमा भाइमसला दिने प्रचलन छ।

यो वर्ष कोरोना महामारीकै कायमै भए पनि बजार चलायमान भएकाले मसलाको व्यापार बढ्ने नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले केन्द्रबिन्दुलाई बताए। उनका अनुसार साना व्यवसायीहरूको व्यापार हुने समय भनेकै दशैंतिहार भएकाले दशैं सकिने वित्तिकै तिहारका लागि आवश्यक वस्तु व्यवस्थापनमा व्यवसायी लागेका छन्।

उनले भने,‘अहिले तिहारमा आवश्यक भाइमसला बिक्री गर्नका लागि होलसेल व्यापारीहरूले प्याकिङ गरेर बजारमा पठाउन थालिसकेका छन्। तर,अहिले बजारमा धेरैजसो भाइमसला रेडिमेड नै आउन थालेको छ।’

व्यापारसंघका अनुसार बजारमा भाइमसला २० रुपैयाँदेखि दुई हजार रुपैयाँसम्मको पाइन्छ। भाइमसला साना खुद्रा किराना पसलदेखि होलसेलसम्म सहजरूपमा पाइन्छ।

‘यो वर्ष भाइमसलाको मूल्य खासै बढेको छैन। बजारमा समय अनुसार एक सयदेखि दुई सय रुपैयाँसम्म बढ्नु स्वाभाविक हो। यो वर्षको तिहारमा केही मसला आइटमको मूल्य बढेको देखिए पनि समग्रमा भाइमसलाको मूल्यबृद्धि भएको छैन।’ संघका महासचिव तुलाधरले भने ।

तिहारमा प्रयोग हुने भाइमसलामा सबैभन्दा बढी प्रयोग हुने काजु, किसमिस, नरिवल, छोकडा, सुपारी, ओखर, मखना आल्मोन्ड, मिश्री र पिस्ता हो। तर, यस्ता मध्ये केही वस्तुको मूल्य बढेको छ भने केही वस्तुको मूल्य घटेको महासचिव तुलाधरले बताए। उनका अनुसार विगतका वर्षको तिहारमा जस्तो मसलाहरूको मूल्यमा खासै धेरै भिन्नता देखिएको छैन। उनले भने,‘गतवर्ष सुकुमेलको मूल्य करिव ६ हजार हाराहारीमा रहेको थियो, यो वर्ष २ हजार रुपैयाँले नै घटेर ४ हजार २ सयमा आएकाले खासै मूल्य बढेको छैन।’

सुकुमेलको मूल्य घट्यो
भाइमसलामा प्रयोग हुने मसला मध्येको सुकुमेल पनि एक हो। यो वर्षको तिहारमा सुकुमेलको मूल्य भने अप्रत्याशितरुपमा घटेको छ। गतवर्ष प्रतिकेजी ५७ सय रुपैयाँसम्म कायम भएको सुकुमेलको मूल्य यो वर्ष ४२ सय रुपैयाँमा झरेको महासचिव तुलाधरले बताएका छन्।

उनका अनुसार छोकडा र सुपारीको मूल्य भने विगतको भन्दा बढेको छ। गत वर्षको तिहारमा प्रतिकेजी ८५० रुपैयाँ पर्र्नेे भारतीय सुपारीको मूल्य यो वर्ष ९०० रुपैयाँ पर्ने भएको छ। त्यस्तै, सिङ्गापुरे सुपारी पनि गतवर्षको तुलनामा केही मूल्य बढेर प्रतिकेजी ४ सय रुपैयाँसम्म पुगेको छ।

त्यस्तै, छोकडाको मूल्य पनि ४० रुपैयाँले बृद्धि भएको छ। गतवर्ष २ सय रुपैयाँ प्रतिकेजी रहेको छोकडाको मूल्य यो वर्ष प्रतिकेजी २४० रुपैयाँसम्म पर्ने भएको छ। तिहारमा भाइमसलामा प्रयोग हुने मसलाहरू एक वर्षमा खपत हुने भन्दा ३० प्रतिशत बढी खपत हुने गरेको महासचिव तुलाधरले बताए। नेपालमा व्यवसायीहरूले तिहारका लागि भनेर विदेशबाट मसलाजन्य वस्तुको आयात गर्ने गरेका छन्। 

विशेषगरि तिहारका लागि नै व्यापारीहरूले चालु आर्थिक वर्षको असोज महिनामा मात्रै साढे ८१ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको भाइमसला आयात गरेको भन्सार विभागको तथ्याङ्कले जनाएको छ।

चालु आर्थिक वर्षको तीन महिनामा मात्रै ४ अर्ब ४ करोड ८ लाख रुपैयाँ बराबरका मसला आयात भएको विभागले जनाएको छ।

Logo