अब अन्तर्राष्ट्रिय व्यापार प्रक्रिया प्रविधिमैत्री प्रणालीमा, नयाँ युगको सुरुवात

अब अन्तर्राष्ट्रिय व्यापार प्रक्रिया प्रविधिमैत्री प्रणालीमा, नयाँ युगको सुरुवात

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा अब अन्तर्राष्ट्रिय व्यापार प्रक्रिया प्रविधिमैत्री प्रणालीमा हुने भएको छ । नेपालमा अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन प्रक्रिया सहजीकरणको लागि निर्माण गरिएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनमा आउने भएको हो ।

नेपाल राष्ट्रिय एकद्वार प्रणाली परियोजना कार्यान्वयन इकाइका अनुसार अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै पक्षहरुले परम्परागत पद्धतीलाई छाडेर अब सम्पूर्ण कागजात तथा सूचनाहरु एकैपटक एउटै बिन्दुबाट सञ्चालन गर्न सक्ने डिजिटल सेवा केन्द्र मंगलबारबाट सञ्चालन हुने भएको छ ।

एकद्वार प्रणाली सञ्चालनमा आएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भन्सारमा परम्परागतरुपमा गरिदै आएको हाते तथा कागज काम कागज छोडेर नयाँ आधुनिक प्रविधि अर्थात डिजिटल युगमा प्रवेश गर्न लागेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताएका छन् ।

उनका अनुसार अन्तर्राष्ट्रिय व्यापार गर्दा भन्सारमा कागजी झन्झट, लामो प्रक्रिया, हातेलेखन हटेर अब कागजरहित डिजिटल माध्यमबाट कार्य सञ्चालन हुने भएको छ । यसले गर्दा अब सरकारी खर्च समेत कटौती हुँदै जाने तथा राजश्व संकलन तथा व्यवसायीक क्षेत्रसमेत व्यवस्थित हुँदै जाने उनको भनाइ छ ।

त्यस्तै, राष्ट्रिय एकद्वार प्रणाली लागू भए पश्चात कागजपत्र र सेवाग्राही अर्थात व्यवसायीहरु स्वयं भौतिकरुपमा उपस्थित भएर कागज लिएर विभिन्न कार्यालयको झ्याल–झ्यालमा गएर गरिने अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन सम्बन्धी सबै कामहरु आधुनिक प्रविधि कम्प्युटर प्रणालीबाट हुने दाहालले बताएका छन् ।

भन्सार प्रशासन र अन्तर्राष्ट्रिय व्यापारलाई कागजरहित बनाउने उद्देश्यसहित सन् २०१३ अघि सारिएको अवधारणा अनुसार नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत सन् २०१३ जुलाईमा नेपाल सरकार र विश्व बैंकबीच भएको सहयोग समझदारीपछि सन् २०१९ बाट आयोजनाको काम अघि बढेको थियो । उक्त अवधारणा मंगलबारबाट पहिलो पटक सञ्चालनमा आउन थालेको हो ।

अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन सम्बन्धी काम भन्सारमा हुने गर्दछ । त्यसैले अब डिजिटल प्रविधि सञ्चालनमा आएपछि भन्सारमा सेवाग्राहीहरुले भोग्नु पर्ने समस्या हल हुनेछ । यसैले अन्तर्राष्ट्रिय व्यापार गर्ने सबै निकायहरु यो एकद्वार प्रणालीमा आवद्ध हुनु पर्नेछ । यसले गर्दा मुलुकमा हुने व्यापारघाटासमेत सन्तुलनमा ल्याउन सक्ने आकलन गरिएको छ ।

दुई विभाग र एक कार्यालयबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर

आइतबार भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन आयोजनाका तर्फबाट भन्सार विभागका महानिर्देशक सुमन दाहाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र राय, पशु सेवा विभागका निमित्त महानिर्देशक डा.दमयन्ती श्रेष्ठ र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा.सहदेव हुमागाईले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

हस्ताक्षर कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणाली लागू गर्ने कार्य अन्तराष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माण तर्फको एउटा खुड्किलो भएको बताएकी छिन् । मन्त्री अर्यालले मुलुकको व्यापारघाटालाई समेत सन्तुलनमा ल्याउन सहजीकरणको भूमिका निर्वाह गर्नु पर्ने आग्रह गरेकी छिन् । अब बेथिति रहेका सबै प्रविधि मैत्री बनाएर बेथितिको अन्त्य गर्दै जाने मन्त्री आर्यलको भनाइ छ ।

यस्तै, भन्सार विभागका महानिर्देशक सुमन दाहालले एकद्वार कार्यान्वयनमा आएसँगै अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको नयाँ युग सुरु हुनै लागेको बताएका छन् । अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन अब प्रविधिमैत्री अर्थात डिजिटलाइज हुने भएकाले कामकारबाहीमा ठूलो परिवर्तन आउने उनको भनाइ छ ।

Logo