केरुङ–रसुवागढी नाका व्यवसायीका लागि अभिशाप, नेपाल–चीन व्यापारमा अवरोध

केरुङ–रसुवागढी नाका व्यवसायीका लागि अभिशाप, नेपाल–चीन व्यापारमा अवरोध


काठमाडौं ।

२०७२ वैशाखको भूकम्पपछि पटक–पटक अवरुद्ध तातोपानी र रसुवागढी नाका अझै सहज रूपमा सञ्चालनमा आउन सकेका छैनन्। चीनले पछिल्लो समय अन्य मुलुकसँग अर्बौंको आयात–निर्यात व्यापार गरिरहे पनि नेपालको हकमा ‘शून्य कोभिड’को नीति अवलम्बन गरेको छ। त्यसको प्रत्यक्ष असर नेपाल–चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ लगायतले चीनले पछिल्लो समय द्विपक्षीय व्यापारमा नेपालसँग ‘अघोषित नाकाबन्दी’ लगाएको आरोप लगाएका छन्। यस्तो अवस्थाका कारण गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसोसरिज, इलेक्ट्रोनिक्स सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थ लगायत सामान चीनतिरै अड्केको व्यवसायीको भनाइ छ।

महासंघका अध्यक्ष नरेश कटुवालले १५ महिनादेखि चीनले कुनै न कुनै बहानामा तातोपानी र रसुवा नाकामार्फत हुने आयात–निर्यात व्यापारमा अवरोध पुर्याएको बताए। ‘हामीले यो अवरोधलाई अघोषित नाकाबन्दीका रूपमा बुझ्नु पर्छ’, अध्यक्ष कटुवालले भने, ‘चीनको नीतिका कारण हामी व्यवसायी सडकमा आइपुग्यौँ। करोडौं घाटा व्यहोरि सक्यौँ।’

विभिन्न दलका नेता, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, परराष्ट्र मन्त्रालयलाई पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको व्यवसायीको गुनासो छ।

कटुवालका भूकम्पमा क्षतिग्रस्त बनेको मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएपछि आंशिक रूपमा खोलिएको तातोपानी नाका विभिन्न बहानामा दर्जनौं पटक अवरुद्ध पारिएको छ। दैनिक सय कन्टेनर आउने उक्त नाका पुनः खुले पनि १० भन्दा बढी संख्यामा कन्टेनर नआएको व्यवसायीको भनाइ छ। तातोपानी नाका पटक–पटक अवरुद्ध भएका कारण व्यवसायीले वैकल्पिक मार्गका रूपमा केरुङ–रसुवागढी नाका प्रयोग गर्न थालेका हुन्।

‘तर, पछिल्लो समय केरुङ–रसुवागढी नाका पनि व्यवसायीका लागि अभिशाप नै बन्यो’, नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले भने, ‘नेपाली व्यवसायीको हकमा तातोपानी र रसुवा दुवै नाका अवरुद्ध पारियो।’

भूकम्पका कारण मितेरी पुल र भौतिक पूर्वाधार भत्केको भन्दै चीनले झन्डै ४ वर्षपछि ०७६ जेठ १५ गतेदेखि पुनर्निर्माण पश्चात् तातोपानी नाका खुला गरेको थियो। त्यसपछि पनि केही समय खुल्ने र केही समय बन्द भइराख्ने उक्त नाका कोभिड १९ को संक्रमणका नाममा अघिल्लो माघदेखि बन्द गरियो। त्यसपछि कात्तिक १५ गतेदेखि सामान्यरूपमा खुलाइएकामा मितेरी पुल मर्मतका नाममा जनवरी २१ देखि फेब्रुअरी ८ सम्म बन्द गरिएको छ।

कोभिड १९ को संक्रमणको बहानामा नेपाली कन्टेनर र व्यवसायीलाई चीनको खासा बजारसम्म जान पनि रोक लगाइएको छ। त्यसअघि नेपाली व्यवसायी र कन्टेनर सोझै खासासम्म जान पाउने व्यवस्था थियो। ‘तर, पछिल्लो समय सामान बोकेको चिनियाँ कन्टेनर तातोपानी बन्दरगाहसम्म आइपुग्छ’, पौडेलले भने, ‘नेपाली व्यवसायीले तातोपानी बन्दरगाहबाट अर्को कन्टेनरमा सामान लोड गरेर काठमाडौंसम्म आउनुपर्ने व्यवस्था बनाइयो।’

पौडेलका अनुसार तातोपानी नाकाबाट पहिले दैनिक ५० करोड मूल्य बराबरको सामान भित्रिन्थ्यो। तर, पछिल्लो समय दैनिक १० करोडको सामान भित्र्याउन पनि हम्मे परेको उनले सुनाए। ‘तातोपानीको विकल्प रसुवा नाका बने पनि त्यहाँबाट दैनिक २–३ करोडको मात्रै सामान भित्रिन्छ’, उनले भने, ‘चीनको यो नीतिका कारण हाम्रो व्यापार व्यवसाय पूर्णरूपमा धराशयी बन्यो।’

तातोपानीस्थित भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले मितेरी पुल मर्मत सम्भारका लागि उक्त नाका करिब २० दिनका लागि चीनले बन्द गरेको जानकारी दिए। मितेरी पुलमुनि बाढी र पहिरोका कारण कटान धेरै भएकाले मर्मत सम्भारका लागि नाका तत्कालका लागि बन्द गरिएको खत्रीले बताए।

चीनसँगको द्विपक्षीय व्यापारका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिक्क देखिएको छ। पटक–पटकको छलफलपछि पनि अवस्थामा सुधार नआएपछि विभागीय मन्त्री लेखराज भट्टले असन्तुष्टि व्यक्त गरेका छन्। मन्त्री भट्टले गत मंगलबार नेपाल इन्टरमोडल यातायात विकास समितिको २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै चीनको व्यवहारका कारण उक्त मुलुकसँगको व्यापारको विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताएका थिए। छिमेकी मुलुक भएर पनि चीनले नेपालसँगको व्यापारमा गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको आरोप उनले लगाएका थिए।

मन्त्री भट्टले आइतबार चीनले कोभिडको समस्या देखाएर नेपालतर्फको द्विपक्षीय व्यापारमा अवरोध सिर्जना गरे पनि अन्य मुलुकसँग भने राम्रै आयात–निर्यात कारोबार गरिरहेको जानकारी दिए। ‘समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयका साथै हाम्रै मन्त्रालयको विभिन्न स्तरबाट पहल र छलफल भइरहेको छ’, मन्त्री भट्टले भने, ‘आशा गरौं निकट समयमै समस्या समाधान हुनेछ।’अन्नपूर्णबाट

Logo