पठनपाठन र परीक्षा गतिविधि सञ्चालन गर्न बिपीका विद्यार्थीको माग

पठनपाठन र परीक्षा गतिविधि सञ्चालन गर्न बिपीका विद्यार्थीको माग

केन्द्रबिन्दु
56
Shares

विराटनगर। सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारी र चिकित्सक शिक्षकको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ। नियमित रुपमा पठनपाठन सञ्चालन गर्न माग गर्दै प्रतिष्ठानका चिकित्सा विद्यार्थीहरु अनशनमा बसेका छन्।

आवश्यक वातावरण बनाएर यथाशीघ्र पढाइ सुरु गर्न माग गर्दै विद्यार्थीहरू रिले अनशनमा बसेका हुन्। उनीहरु ‘विद्यार्थीको इच्छा, स्वायत्त मेडिकल शिक्षा’ नारासहित अनशनमा बसेका छन्।

विद्यार्थीहरुले पढ्न पाउने अधिकार हनन नगर्न भन्दै नियमित पठनपाठन सञ्चालन गरी परीक्षाका गतिविधि अघि बढाउन माग गरेका छन्। प्रतिष्ठानमा रहेका विद्यार्थीहरुको संस्था विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजकले मेडिकल शिक्षाजस्तो मानव स्वास्थ्यसँग जोडिने संवेदनशील विषयमा हेलचेक्य्राइँ नगर्न आग्रह गरिएको बताए।

बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै पछिल्लो पटक करिब एक महिनादेखि प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सक आन्दोलित छन्। त्यसअघि पनि उनीहरुले आन्दोलन गरेका थिए। तर व्यवस्थापनले माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगन भएको थियो। माग पूरा गर्ने र सहमति कार्यान्वयन गर्नेतर्फ प्रतिष्ठान व्यवस्थापन गम्भीर नभएको भन्दै उनीहरुले पुनः आन्दोलन सुरु गरेका हुन्।

आन्दोलनका कारण चिकित्सा विद्यार्थीको पठनपाठन प्रभावित हुनुका साथै बिरामीको उपचार सेवा पनि प्रभावित बनिरहेको छ।प्रतिष्ठानमा उत्पन्न समस्या र तनावको अवस्था अन्त्य गर्न स्थानीय बासिन्दा, राजनीतिक दल, जनप्रतिनिधि र सरोकारवालाले कोशी प्रदेश सरकारदेखि संघीय सरकारसम्मको ध्यानाकर्षण गराउँदै आएका छन्।

Logo