कार्यभार सम्हाल्दै त्रिवि उपकुलपति बरालले भने- ‘शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता’

कार्यभार सम्हाल्दै त्रिवि उपकुलपति बरालले भने- ‘शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता’

केन्द्रबिन्दु
28
Shares

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजङ्ग बरालले पदबहाली गरेका छन् । आज साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन् ।

पदबहालीपछि कुराकानी गर्दै उपकुलपति बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताए । “त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो । यहाँ धेरै काम गर्नुपर्नेछ”, उनले भने ।

शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति बरालले बताए। विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफनो योजनामा रहेको उनको भनाइ थियो ।

विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो । त्यसपछि आज प्रधानमन्त्री प्रचण्डले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । बराललाई नियुक्ति गर्नुअघि प्रधानमन्त्रीले शिक्षामन्त्री एवं शिक्षा सचिवसँग उनको ‘करिअर’का विषयमा जानकारी समेत लिएका थिए ।

Logo