ब्रिटिस काउन्सिलद्वारा सातौँ ‘एजुकेसन सिम्पोसियम’ आयोजना

ब्रिटिस काउन्सिलद्वारा सातौँ ‘एजुकेसन सिम्पोसियम’ आयोजना

केन्द्रबिन्दु
14
Shares

काठमाडौँ । ब्रिटिस काउन्सिल नेपालले सातौँ ‘एजुकेसन सिम्पोसियम’ को आयोजना गरेको छ । सोमबार काठमाडौँमा ‘शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको पेसागत विकास’ शीर्षकमा उक्त सिम्पोसियम (सङ्गोष्ठी)को आयोजना गरिएको हो ।

ब्रिटिस काउन्सिलको यो वार्षिक सिम्पोसियम विगतका वर्षहरूमा जसरी नै नेपालको शैक्षिक क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरूमा छलफलका लागि उल्लेखनीय मञ्च साबित भएको काउन्सिलले बताएको छ । यस वर्षको सिम्पोसियम नेपालको विद्यालय शिक्षा क्षेत्र योजनामा उल्लेख भए अनुरूपको शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको निरन्तर पेसागत विकासमा केन्द्रीत रहेको थियो।

शिक्षक र शिक्षकका प्रशिक्षकहरूको निरन्तर पेसागत विकास (सीपीडी)का सम्बन्धी ब्रिटिस काउन्सिलको दृष्टिकोण ब्रिटिस काउन्सिलको यससम्बन्धी विश्वव्यापी बुझाइ तथा शिक्षण र शिक्षकको विकासमा रहेको विज्ञतामा आधारित छ। यस कार्यक्रमकाे उद्देश्य विश्वभर नै उच्च स्तरको ‘सीपीडी’ उपलब्ध गराउने, शिक्षकहरूको अभ्यास अभिवृद्धि गराउँदै उनीहरूको सिकाइलाई सफल बनाउन योगदान दिनु रहेकाे काउन्सिलले जनाएकाे छ ।

‘विद्यालय शिक्षा क्षेत्र योजना’ ले गुणस्तरीय विद्यालय शिक्षा र हरेक बालबालिकाका लागि न्यूनतम सिकाई उपलब्धि सुनिश्चित गर्न शिक्षकहरूको विकास तुरुन्तै गर्न आवश्यक भएको बताएको छ। शिक्षाको स्तर उकास्न ‘विद्यालय शिक्षा क्षेत्र योजना’ ले तय गरेका रणनीतिहरूमा शिक्षकको योग्यताको ढाँचालाई समसामयिक बनाउने, शिक्षक तयार पार्ने कार्यक्रमहरू लागू गर्ने, पेसागत विकास प्रणालीमा सुधार ल्याउने, शिक्षकको सहयोगका लागि संयन्त्र विकास गर्नेलगायतका छन्।

सिम्पोसियममा नेपालमा शिक्षकको सहयोगका लागि संयन्त्र विकास गर्ने सम्बन्धमा बेलायतसहित विश्वभर अपनाइएका नीति, अभ्यास र सफल मोडलहरूका बारेमा छलफल भएको थियो । यस क्रममा सिम्पोसियममा सेन्टर फर एजुकेसन एन्ड ह्युमन रिसोर्स डेभलपमेन्टको सहकार्यमा तयार गरेका अनुसन्धान कृतिहरू ‘नेपालमा सेवारत शिक्षकका प्रशिक्षकका अभ्यास, दृष्टिकोण र पेसागत आवश्यकता’ तथा शिक्षक तालिम पाठ्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) सार्वजनिक गरिएको थियो।

कार्यक्रमको उद्‌घाटनका क्रममा नेपालका लागि बेलायतका राजदूत रोब फेनले ,‘शिक्षाका लागि विश्वव्यापी साझेदारी लगायतका कार्यक्रमहरू मार्फत बेलायत सरकारले नेपाललाई मानव विकासका सूचकाङ्कहरू हासिल गर्न सहायता गराउँदै आएको र नेपालका तीनै तहका सरकारसँगको सहकार्यमा काठमाण्डौमा रहेको बेलायती दूतावास र ब्रिटिस काउन्सिल नेपालको विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा सघाउन प्रतिबद्ध जनाएका छन् ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले शैक्षिक क्षेत्रभित्र प्रणालीगत सुधारलाई अगाडि बढाउन मुख्य सहयोगीका रूपमा ब्रिटिस काउन्सिलको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । ‘हाम्रो शैक्षिक क्षेत्रभित्र प्रणालीगत सुधारलाई अगाडि बढाउन मुख्य सहयोगीका रूपमा ब्रिटिस काउन्सिलको महत्त्वपूर्ण भूमिका रहेको छ। गएका वर्षहरूमा शिक्षा मन्त्रालयले ब्रिटिस काउन्सिलसँग निकटमा रहरे सहकार्य गरेका थियौँ, शैक्षिक सुधार र क्षमता निर्माणमा ब्रिटिस काउन्सिलको विज्ञताको भरपुर लाभ उठाइएको छ। यसबाहेक शैक्षिक स्तर र अभ्यास सुधारका लागि बेलायतका विद्यालय र संस्थाहरूसँग पेसागत साझेदारी स्थापित गर्न संयुक्त प्रयासहरू पनि भएका छन्।’ उनले भने ।

उद्‌घाटनकै क्रममा ब्रिटिस काउन्सिल नेपालको कन्ट्री निर्देशक शाहिदा म्याक्डोगलले भने, ‘सन् २०३० सम्ममा मध्य आय भएको देशमा स्तरोन्नति हुने लक्ष्य लिएको नेपालले शैक्षिक सुधारको महत्वलाई राम्ररी बुझेको छ। बलियो शैक्षिक प्रणालीले मानिसलाई व्यक्तिगत सफलताका लागि आवश्यक सिप र ज्ञानयुक्त त बनाउनुका साथै देशको आर्थिक वृद्धिदर र सामाजिक विकासको लागि उत्प्रेरकको रूपमा पनि काम गर्छ।’

Logo