विदेश पढ्न जानेलाई रोक्न नहुनेमा परामर्श व्यवसायीहरूको जोड, भन्छन्- ‘स्वदेश फर्किएर गरिखाने माहोल बनाउनुपर्यो’

विदेश पढ्न जानेलाई रोक्न नहुनेमा परामर्श व्यवसायीहरूको जोड, भन्छन्- ‘स्वदेश फर्किएर गरिखाने माहोल बनाउनुपर्यो’

केन्द्रबिन्दु
532
Shares

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूले विदेश पढ्न जाने विद्यार्थीहरूले रोक्न नहुने बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सहकार्यमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रममा विद्यार्थीलाई विदेश पढ्न जानबाट रोके देशलाई हरेक हिसाबबाट पछाडी धकेल्नु सो–सरह रहेका बताएका हुन् ।

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीका लागि उचित वातावरण बनाउनुपर्ने बताउँदै विदेश जानेहरूलाई नेपाल फर्काउने वातावरण पनि बनाउनुपर्नेमा व्यवसायीहरुले जोड दिए । इक्यान अध्यक्ष शेषराज भट्टराईले यस क्षेत्रको दिगो व्यवस्थापन साथै सुधारको लागि शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक रहेको बताए ।

‘शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक छ, जसको लागि सरकारले पहल गर्नुपर्छ, हजारौंले रोजगारी पाएका यस क्षेत्रमा सरकारको चासो नदेखाउनु विडम्बनाको विषय हो,’ उनले भने । ऐन निर्माणका लागि यो कार्यक्रमले निकै महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष भट्टराईको धारणा छ ।

शिक्षालाई प्राथमिकता दिएर अगाडि बढ्नु आजको आवश्यक रहेको उनको भनाइ छ । ‘वैदेशिक शिक्षाका लागि नेपालबाट हजारौं युवाहरू युरोप, अमेरिका, क्यानाडा, जापान, कोरिया जस्ता मुलुकमा पुग्ने गरेका छन्, उनीहरु विदेशमा मात्रै हैन यही आएर पनि उद्यमी बनी रहेका छन्, तर विदेश गएकाहरूको लागि पनि स्वदेश फर्किएर गरिखाने वातावरण मिलाउनु पर्छ,’ उनले भने ।

यसैगरी इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श क्षेत्रलाई सरकारले बुझ्न आवश्यक रहेको बताएका छन् । ‘शिक्षा परामर्श क्षेत्र के हो भनेर शिक्षा मन्त्रालयले बुझेको जस्तो मलाई लाग्दैन, यो क्षेत्रलाई व्यवस्थापन र सुधार गर्नका लागि दिगो नीति नियम बनाउन आवश्यक छ, त्यसका लागि सरकारलाई परामर्श व्यावसायीहरुले सक्दो सहयोग गर्न तयार छन्,’ उनले भने ।

सरोकारवालाहरूसहित राखेर आयोजना गरिएका यस कार्यक्रममा पाँच वटा प्यानल डिस्कसन भएका थिए । जसमा व्यवसायी, शिक्षा विद्, विश्वविद्यालयका शिक्षक, मन्त्री लगायतको सहभागिता थियो ।

शैक्षिक परामर्श क्षेत्रका लागि छुट्टै ऐन बनाउन पहल गर्छुः कानूनमन्त्री गिरी

कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले शैक्षिक परामर्श क्षेत्रमा छुट्टै ऐन बनाउन पहल गर्ने बताएका छन् । उनले कार्यक्रममा बोल्दै परामर्श क्षेत्रका लागि यस सम्बन्धी ऐन आवश्यकताको विषयलाई मध्यनजर गर्दै ऐन बनाउन आफूले पहल हुने बताएका हुन् । विदेशी विद्यार्थीलाई पनि नेपाल आएर पढ्न सक्ने वातावरण मिलउनु पर्ने उनेका तर्क छ । गिरीले यसै क्रममा नेपाली विश्वविद्यालयमा विदेशी विद्यार्थीहरूले किताब च्यापेर पढ्न गएको हेर्ने मन भएको पनि धारण राखेका छन् ।

विदेशी विद्यार्थी नेपालमा आएर पढ्ने वातावरण रहेको तर त्यसका लागि शिक्षाको गुणस्तर सुधारमा आमूल परिवर्तन गर्न आवश्यक रहेको बताए । परामर्श संस्थाहरूले विद्यार्थीहरूलाई राजनैतिक बेथितिका बीच पनि सहि बाटो देखाउन मद्दत गरेको पनि बताए । ‘देशमा जुन सरकार आए पनि पार्टीकै कार्यकर्ताहरूले विश्वविद्यालयहरूमा वर्षौ दिन ताला लगाइदिन्छन्, धन्न शैक्षिक परामर्श संस्थाहरू विद्यार्थीहरूलाई बाटो देखाई दिएका छन्,’ उनले भने ।

यसैगरी शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले अबको महिना दिनभित्र मन्त्रिपरिषद्मा शिक्षा विधेयक टेबुल गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै सचिव अधिकारीले शिक्षा क्षेत्रका विज्ञहरूलाई समेटेर नै काम गरिरहेको र छिट्टै मन्त्रिपरिषद्मा शिक्षा विधेयक टेबुल गर्ने बताएका हुन् ।

‘क्याबिनेटमा शिक्षा विधेयक ऐन एक महिनाभित्र पुर्याउँछु । शिक्षा सम्बन्धीहरू नीति नियम कानून बनाइरहेका छौं, सम्बन्धित क्षेत्रका विज्ञ आदि सबैलाई समेटेर नै काम गरिरहेका छौं,’ उनले भने ।साथै सचिव अधिकारीले एनओसी पनि २४ घण्टाभित्रै दिने व्यवस्था मिलाउने प्रतिबद्धता रहेको पनि बताएका छन् ।

नेपाली र विदेशी शैक्षिक परामर्श संघबीच सहकार्य आवश्यक छः डा. रिजाल

नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले नेपालमा रहेका शैक्षिक परामर्श संघ विदेशमा रहेका शैक्षिक परामर्श संघसँग जोडिएमा नेपाल साँचो अर्थमा अघि बढ्न सक्ने बताए। उनले विदेशमा पाएको एक्पोजर, सरकारी नीति नियम, विद्यार्थीमैत्री भए नेपाल साँचो अर्थमा अघि बढेको मान्न सकिने बताए । नेपालीहरु आत्तिएर विदेश गएको देखेता पनि ४८ सालअघिको भन्दा अहिले शतप्रतिशत राजस्व बढेको नेता रिजालले बताए । उनले विदेश गएकाहरुका कारण कुल ग्राहर्स्थ उत्पादन ४५ प्रतिशत र प्रतिव्यक्ति आम्दानी २५ गुणा बढेको बताए । साथै उनले विदेशमा अध्ययन गरिरहेका नेपालीहरुसँग भर्चुअल्ली जोडिएर उनीहरुबाट प्रत्यक्ष कक्षा लिन सकिने पनि बताए ।

शिक्षा विधेयकले शैक्षिक क्षेत्रका सबै विषय समेट्नुपर्छ -शिक्षाविद् कोइराला

शिक्षाविद् विद्यानाथ कोइरालाले सरकारले ल्याएको शिक्षा विधेयकले शैक्षिक क्षेत्रका सबै विषय समेट्नुपर्नेमा जोड दिएका छन् ।‘नीतिगत भन्दा पनि नियतको चिन्तन हो, शिक्षा क्षेत्रमा जिम्मेवार बहन हुनसक्ने किसिमको काम भएको छैन, शिक्षा विधेयकले शैक्षिक क्षेत्रका सबै विषय समेट्नु पर्छ,’ उनले भने ।

पछिल्लोसमय पढ्न जानेभन्दा विदेश कमाउन जानेको संख्या बढेकोमा गुनासो गर्दै कोइराला भन्छन् ‘हाम्रो नीतिमा हैन नियतमा प्रश्न देखिएको छ । अनिवार्य बालबालिकाको बचत सिकाउनुपर्छ नभए उद्यमी बन्न सक्दैनन् भनेर भन्दै आएको थिएँ, अहिले धेरै पालिकाले मनन् गर्दै कार्यान्वयनमा ल्याएका छन् ।’

नेपालको आईटी क्षेत्रमा निकै राम्रो भविष्य छः पूर्वअर्थमन्त्री महत

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको भविष्य सर्भिस इन्ड्रस्टीमा रहेको बताए । उनका अनुसार हाल नेपालमा आईटी क्षेत्रमा निकै राम्रो भविष्य रहेको छ । उनले नेपाली आइटी विद्यार्थीहरुले उत्पादन गरेको सफ्टवेयर वार्षिक ७० अर्बभन्दा बढी निर्यात गरिरहेको बताउँदै स्टार्टअपका लागि चालू आर्थिक वर्षमा आवश्यक बजेट बिनियोजन गरेको पनि बताए । जसले छिट्टै परिणाम दिने उनको भनाइ छ ।

‘विद्यार्थीको भविष्य सुनिश्चितका लागि परामर्श संस्थाहरूको भूमिका महत्वपूर्ण’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली विद्यार्थीको भविष्य सुनिश्चित गर्नको लागि शैक्षिक परामर्श संस्थाहरूले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘विदेश गएका युवा पनि फर्केर स्वदेशमा लगानी गरिरहेका छन् । युवाको लागि विदेश अवसर पनि बनिरहेको छ । परामर्श संस्थाहरूलाई विभिन्न आरोप पनि लागेका छन् । तथापि युवाहरुको भविष्य सुनिश्चित बनाउन परामर्श संस्था लागिरहेका छन् ।’

नेपाली विद्यार्थीले जुनसुकै मुलुकमा पनि अवसर पाउँछन्ः अर्थविद् अच्युत वाग्ले

अर्थविद् तथा काठमाडौं विश्वविद्यालयका प्रोफेसर प्राडा. अच्युत वाग्लेले ३८ हजार नेपाली नर्सहरु विदेशिए भनेर चिन्ता नगर्न आग्रह गरे । उनले नेपाली विद्यार्थीहरुले विश्वको जुनसुकै मुलुकमा पनि अवसर पाउने भएकाले नर्स तथा विद्यार्थीहरु विदेशिँदा खुसी हुनुपर्ने बताए ।

यस्तै, वाग्लेले शिक्षा क्षेत्रले अर्थतन्त्रमा महत्वपूर्ण योग्दान पुर्याउने भएकाले नेपाललाई शिक्षाको हब बनाउनमा लाग्नुपर्ने बताए । उच्च शिक्षालाई राज्यले उद्योगको रूपमा विकास गर्नुपर्ने पनि उनले बताए ।

शैक्षिक क्षेत्रलाई सरकारले अभिन्न अंगका रुपमा लिए देश आत्मनिर्भर बन्छः वरिष्ठ उपाध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमै लगानीमैत्री वातावरण बने विदेशिएका युवाहरु स्वदेश फर्किने बताए। नेपालमा अवसर नै नभएर युवाहरु विदेशीन बाध्य रहेको पनि उनले बताए । उनले हाल नेपालमा अर्थतन्त्रको कमि, उत्पादनमुलक क्षेत्र घट्दै जानु र आयातित अर्थतन्त्रमा देश केन्द्रित हुनुलाई यसको केन्द्रबिन्दु मानेका छन् । उनले निजी क्षेत्रले जस्तै सरकारले पनि शैक्षिक क्षेत्रलाई आफ्नो अभिन्न अंगका रुपमा लिएको खण्डमा देशमै आत्मनिर्भर अर्थतन्त्रको विकास हुने बताए ।

Logo