एसईई परीक्षा सहजै पास गर्न अपनाउन सकिन्छ यी टिप्स [भिडियाे]

एसईई परीक्षा सहजै पास गर्न अपनाउन सकिन्छ यी टिप्स [भिडियाे]

केन्द्रबिन्दु
322
Shares

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुन केही दिन मात्र बाँकी छ । परीक्षा नजिकिँदै गर्दा परिक्षार्थीहरुको मुटु पनि ढुकढुक पक्कै गरिरहेको होला । कतिपयले त चिट कसरी चोर्ने भनेर योजना बनाइसक्नु भएको छ होला ।

परीक्षा आउँदै गर्दा मनमा डर सबैको हुन्छ । डर मात्रै परीक्षाको समाधान होइन । तर, तपाईंले परीक्षाको तयारी कति गर्नु भएको छ त्यसमा आधारमा पनि नतिजा हात पार्न सफल भइन्छ । परीक्षा दिएपछि राम्रो अंक प्राप्त गर्ने लक्ष्य हरेक विद्यार्थीको हुन्छ । देशभर चैत १५ गतेदेखी एसईई परीक्षा सुरु हुँदैछ । एसईई परीक्षा दिनको लागि देशभरका ५ लाख ४ हजार ४१४ जना विद्यार्थीले परीक्षाको फारम भरेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

यसपटक एसईईमा ३५ प्रतिशत नम्बर नल्याउने विद्यार्थी फेल हुनेछन् । नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको छ । यो वर्षदेखि लागु गरिएको उक्त व्यवस्था सैद्धान्तिक र प्रयोगात्मक दुवैमा छुट्टा–छुट्टै अङ्क ल्याउनुपर्ने हुन्छ । परीक्षाका बेला बालबालिकाहरूमा एक प्रकारको मानसिक तनाव सिर्जना हुन्छ । अझ फरक विद्यालयमा गएर परीक्षा दिने कुराले कतिपय बालबालिकामा मनोवैज्ञानिक त्रास उत्पन्न हुने गर्दछ । यो मूलतः हाम्रो परीक्षा प्रणालीको कारणले हो । परीक्षा आयो भनेर शिक्षक, अभिभावक तथा आफन्तले तनाव दिइरहेको समेत भेटिन्छ । विद्यार्थीको परीक्षामा राम्रो प्रस्तुतिको लागी शिक्षक, अभिभावक र बालबालिकाहरूले कस्ता कुरामा ध्यान दिनुपर्छ त बुझिराखौं ।

परिक्षार्थीले ध्यान दिनुपर्ने कुरा

  • परीक्षालाई सामान्य रूपमा लिने वा परीक्षासँग नडराउने, परीक्षाबारे अनावश्यक तनाव नलिने
  • पर्याप्त पानी पिउने तथा विभिन्न मौसमी फलफूल खाने
  • आलस्यता र कब्जियतबाट बच्न जंकफुडबाट टाढा रहने
  • पढ्दै गर्दा समय–समयमा ब्रेक लिने। शरीरलाई सक्रिय र गतिशील बनाउने तथा गीत सुन्ने
  • सम्भव भएसम्म साथीसँग बसेर पढ्ने तथा पढेको कुरा शेयर गर्ने
  • परीक्षा तयारी गर्दा सकेसम्म लेखेर, सूची तयार पारेर वा चित्र (डायग्राम) बनाएर पढ्ने
  • परीक्षाका लागि आवश्यक पर्ने शैक्षिक सामग्री (कलम, ज्यामिति बक्स, स्केल लगायत) को उचित व्यवस्थापन गर्ने
  • परीक्षा सुरू हुनुभन्दा अघिल्लो दिन अभिभावक वा साथीसँग परीक्षा केन्द्र जाने तथा उक्त केन्द्र कहाँ छ र आफ्नो वासस्थानबाट कति समय लाग्छ भनी जानकारी लिने
  • पहिलो दिन आधा घण्टा अगाडि र अरू दिन कम्तीमा १५ मिनेट अगाडि परीक्षा केन्द्रमा पुग्ने
  • कहिलेकाहीं घरबाट परीक्षा केन्द्र जाँदै गर्दा प्रवेश पत्र बिर्सिएर घर फर्कँदा हतार र तनावमा दुर्घटना हुनसक्ने वा मानसिक दबाब हुनेभएकोले परीक्षा केन्द्रमा पुगेर अभिभावक वा विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गर्ने
  • परीक्षा हलमा मुस्कान सहित निरीक्षकलाई नमस्कार वा कुनै अभिवादसहित प्रवेश गर्ने
  • उत्तर पुस्तिकामा सिम्बोल नम्बर (अंक र अक्षरमा), मिति, विषय, परीक्षा केन्द्र लगायत आवश्यक विवरण स्पष्टसँग लेख्ने
  • प्रश्न पत्र राम्रोसँग पढ्ने र सुरूमा आफूलाई सजिलो लाग्ने प्रश्नको उत्तर लेख्ने
  • परीक्षा हलमा परीक्षार्थी साथीहरूलाई अनावश्यक हैरानी नगर्ने
  • मर्यादित र शालीन ढंगले परीक्षामा सहभागी हुने
  • नबुझेका प्रश्नहरू निर्धक्कसँग निरीक्षकसँग सोध्ने
  • सकेसम्म सबै प्रश्नको उत्तर लेख्न कोसिस गर्ने अर्थात् कुनै पनि प्रश्न नछोड्ने
  • उत्तर लेख्ने क्रममा कुनै प्रश्नको उत्तर अस्पष्ट भएमा विषय शिक्षकले कक्षामा पढाउँदै गरेको सम्झने र उत्तर लेख्ने कोसिस गर्ने
  • प्रश्नपत्रमा उल्लिखित निर्देशन पूर्ण रूपमा पालना गर्ने ।

यी त भए विद्यार्थीले परीक्षाका बेलामा गर्नुपर्ने कार्य । तर, छोराछोरीको परीक्षाको बेलामा अभिभावकले ध्यान दिनुपर्ने विषय पनि उत्तिकै हुन्छ । आफ्ना छोरा छोरी परीक्षा दिँदा अभिभावकले के गर्नुपर्छ जानी राखौं ।

  • पहिलो विषय त अभिभावकले बालबालिकाहरूको व्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिनै पर्छ
  • पौष्टिक आहार वा भोजनको प्रबन्ध गर्ने
    बेलाबेलामा उनीहरूको सिकाइमा सहयोग हुने गरी छलफल र अन्तरक्रिया गर्ने
    सकारात्मक कुरा भनेर पढाइमा प्रेरित गर्ने
  • तिमीले पहिलाभन्दा मिहिनेत गरेका छौं है भनेर पढाइमा उत्प्रेरित गर्ने
  • समयमा उठ्न र पढ्नका लागि प्रेरित गर्ने तथा सहयोग गर्ने
  • बालबालिकालाई आवश्यक पर्ने शैक्षिक सामग्रीको उचित व्यवस्थापन गरिदिने
  • अन्य समयमा भन्दा बढी सद्भाव, माया र हेरविचार पु-याउने
  • बालबालिकाको लागि अन्य समयमा भन्दा बढी वा आवश्यक समय दिने।
  • पढाइमा व्यस्त हुँदा उनीहरूको अगाडि आफू मोबाइल तथा टेलिभिजनमा व्यस्त नहुने।
  • योसँगै शिक्षकले पनि ध्यान दिनु पर्ने विषय हेरौं,
  • परीक्षार्थीलाई ‘अत्यन्त कमजोर छौं, सक्दैनौ वा सम्भव नै छैन’ जस्ता शब्दावली प्रयोग गरी निरुत्साहित नगर्ने
  • परीक्षार्थीलाई सकारात्मक तरिकाले पढाइमा प्रेरित गर्ने
  • उनीहरूका लागि आवश्यक सूचना स्पष्टसँग दिने
  • कतिपय अभिभावकले समयमा शुल्क नतिरेका कारण विद्यालयमा प्रशासन वा शिक्षकले परीक्षार्थीहरूलाई अनावश्यक दबाब दिने गरेको समेत सुनिन्छ। त्यस्तो व्यवहार नगरी अभिभावकसँग समन्वय गर्ने
  • सकारात्मक सोचका साथ उनीहरूको सिकाइमा प्रेरित गर्ने
  • परीक्षार्थीहरूको प्रवेशपत्रको एक प्रति फोटोकपी विद्यालयमा राख्ने र एक प्रति विद्यार्थीलाई राख्न लगाउने
  • परीक्षाको दिन कम्तीमा आधा घण्टा अगाडि परीक्षा केन्द्र पुग्ने र परीक्षार्थीहरुलाई भेटेर हौसला दिने ।

माथि उल्लिखित कुराहरूमा विद्यालय प्रशासन/शिक्षक, अभिभावक र बालबालिकाले ध्यान पु-याउन वा आ–आफ्नो भूमिका र दायित्व पूरा गर्न जरूरी छ । यति गर्न सकियो भने बालबालिकाले राम्रो नतिजा प्राप्त गर्न सक्छन् । सकेसम्म परीक्षामा राम्रो गरेर उत्कृष्ट ग्रेड ल्याउने कोसिस गरौं। तर एसइई वा अन्य परीक्षाको नतिजा ‘ए’ आएको, ‘ए प्लस’ नआउँदैमा जिन्दगी बर्बाद हुन्छ भन्ने कुराबाट सबै पक्ष मुक्त बनौं ।

Logo