आजदेखि छैटौं संस्करणको ‘कान्तिपुर हिसान शैक्षिक मेला’ सुरु

आजदेखि छैटौं संस्करणको ‘कान्तिपुर हिसान शैक्षिक मेला’ सुरु

केन्द्रबिन्दु
0
Shares

काठमााडौं । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आजदेखि कान्तिपुर हिसान शैक्षिक मेला सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले संयुक्त आयोजना छैटौं संस्करणको मेला आयोजना गरिएको हो ।

काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘कान्तिपुर हिसान एडुफेयर–२०१९’ मेला आगामी आइतबारसम्म चल्नेछ । एसईई, कक्षा ११ र १२ को परीक्षा दिएर बसेका तथा विश्वविद्यालय पढ्ने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।

एसईई परीक्षाको नतिजा पर्खाइमा रहेकादेखि उच्च शिक्षा कहाँ, कुन र कस्तो विषय पढ्ने भन्नेबारे सम्पूर्ण जानकारी दिने शैक्षिक मेलाको मुख्य उद्देश्य रहेको हिसानका महासचिव लोकबहादुर भण्डारीले जानकारी दिए । मेलामा अभिभावकले स्वदेशमै अब्बल शैक्षिक संस्थाहरू छन् र गुणस्तरीय शिक्षा दिने शैली, तौरतरिका तथा उनीहरूको स्थितिबारे जान्न सक्नेछन् ।

प्रदर्शनीस्थलको भित्र र बाहिर गरी १५० स्टल छन् । मेलामा स्वेदशमै सुचारु शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाबारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउनेछन् । शिक्षालयहरूले कुन विषय किन पढ्ने, विषय छनोटजस्ता अन्योलबारे विद्यार्थीलाई जानकारी तथा परामर्श दिनेछन् ।

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यलय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धनमा सञ्चालित १ सय ५० भन्दा बढी शैक्षिक संस्थाको सहभागिता रहेको छ ।

विभिन्न संस्थाको प्रस्तुतिका साथै विज्ञहरूको सहभागिता शिक्षा तथा प्रविधिलगायत विविध शैक्षिक जानकारीमूलक र विषयगत सेमिनारसमेत हुनेछन् । अवलोकनका निम्ति निःशुल्क प्रवेश, विभिन्न कलेजले निःशुल्क छात्रवृत्तिसमेत दिने व्यवस्था मिलाईएको छ ।

Logo