प्रधानमन्त्री आउँदा अर्को गाउँपालिकाका स्कूल बन्द

प्रधानमन्त्री आउँदा अर्को गाउँपालिकाका स्कूल बन्द

केन्द्रबिन्दु
0
Shares

धादिङ । प्रधानमन्त्री केपी ओलीले सोमबार मध्यपहाडि लोकमार्गका विछ्याईने अप्टिकल फाईबरको शिलान्यास गरे । वर्तमान सरकारले आफ्नो महत्वपूर्ण कार्यक्रम मारेर प्रधानमन्त्री ओलीले धादिङको गल्छीमा गएर शिलान्यस गरेका थिए ।

प्रधानमन्त्री शिलान्यास गर्न जाँदा गल्छी गाउँपालिकाको छिमेकी थाक्रे गाउँपालिकाले सबै स्कुलमा बिदा दिएको थियो । धादिङको गल्छी गाउँपालिका–४ मासटारमा सूचना महामार्ग (अप्टिकल फाइबर) शिलान्यास गर्न प्रधानमन्त्री ओली आउने भएपछि बिदा दिइएको थियो ।

गाउँपालिकाभित्रका सबै स्कुल बिदा दिएकोबारे गाउँपालिका उपाध्यक्ष र गाउँपालिकाका शिक्षा अधिकृतबीच विवाद सुरु भएको छ । दुवैले एक अर्कालाई आरोप प्रत्यारोप लगाएका छन् । गाउँ कार्यपालिकाले नै घोषणा गरेर बिदा दिएको नभई स्रोत केन्द्रले सट्टा बिदा दिएको गाउँपालिकाकी उपाध्यक्ष अम्बिका रूपाखेतीको भनाई छ ।

‘हामीले बिदा दिने निर्णय गरेको होइन, जिल्लामा ठूलो कार्यक्रममा प्रधानमन्त्री आउने भएपछि शिक्षकले पनि सहभागी हुन पाउनुपर्ने माग आएकाले स्रोत केन्द्रले पछि आउने कुनै बिदाबाट कटाउने गरि सट्टा बिदा दिएको जानकारी पाएकी छु’, उनले भनिन्। तर अहिले जिल्लामा कुनै पनि स्रोत केन्द्र छैनन् । सरकारले नै साबिकका सबै स्रोत केन्द्र खारेज गरिसकेको छ।

थाक्रे गाउँपालिकाका शिक्षा अधिकृत दीपेश सिलवालले भने बिदा नदिएको दाबी गरे। केही स्कुलले आफूखुसी सट्टा बिदा दिएको हुनसक्ने उनले बताए । उनले भने, ‘विद्यालय आफैंलाई सट्टा बिदा तोक्ने अधिकार हुन्छ, केही स्कुलले बर्खे बिदाबाट कटाउने गरि सट्टा बिदा दिएको सुन्नमा आएको छ तर पालिकाको शिक्षा शाखाबाट बिदा दिने र पालिकाभरि सट्टा बिदा दिने कुनै निर्णय भएको छैन।’

अप्टिकल फाइबर नै शिलान्यास गरेर सार्वजनिक समारोह गरेको विद्यालयमा समेत बिदा नदिएको तर छिमेकी गाउँपालिकाले चाँही विदा दिएको भन्दै चर्को आलोचना भईरहेको छ । यसअघि पनि नेकपा अध्यक्ष पुष्पकमल दाहाल धादिङ महोत्सव उद्घाटन गर्न बेनिघाट आउँदा बेनिघाट रोराङ गाउँपालिकाले सार्वजनिक बिदा दिएको थियो ।

Logo