अस्थायी शिक्षिका अमात्यको पीडा, ‘२८ वर्ष पढाएपछि अयोग्यको बिल्ला’

अस्थायी शिक्षिका अमात्यको पीडा, ‘२८ वर्ष पढाएपछि अयोग्यको बिल्ला’

केन्द्रबिन्दु
0
Shares

कृष्णसिंह धामी ।

काठमाडौं । ललितपुरकी अमिता अमात्यलाई यतिबेला छटपटी भईरहन्छ । नत रातमा राम्रोसँग सुत्न पाएकी छन्, नत दिनमा खान नै । उनको मनमा शान्ति नछाएको महिनौ भईसक्यो । उनी बेला बेला भक्कान्छिन् । एक्लै एक्लै रुन्छिन् । मनको पीडा कसैलाई पोख्न सक्दैनन् ।

उनको मनमा एउटै प्रश्न उब्जिरहन्छ, ‘२८ वर्षसम्म विद्यार्थीको भविश्य बनाएर अहिले म कसरी अयोग्य भए ?’ उनी २०४७ सालदेखि महेन्द्र भृकुटी मावि एकान्तकुना ललितपुरमा पढाउदैं आएकी छन् । उनीभन्दा पछि जागिर खाएर साथीहरु स्थायी भईसके । उनको सक्रिय जीवन त्यही अस्थायी शिक्षकको रुपमै बित्यो । एक त उनी शारीरिक रुपमा अशक्त अर्कोतिर उमेरपनि ढल्किदै गयो । अहिले आएर उनी ‘घर न घाटको’ जस्तै बनेकी छन् ।

कतिबेला त उनलाई आफ्नो जीवनदेखेर नै विरक्त लागेर आउँछ । त्यसको कारण अरु कोही नभएर राज्यको नीति हो । सरकारले २०४८ सालमा अस्थायी शिक्षकहरुलाई स्वतः स्थायी गरायो । त्यो बेला उनी शिक्षक बनेको एक वर्षमात्र बितेको थियो । जसका कारण उनी स्वतः स्थायी बन्नबाट चुकिन् । अर्को रोचक कुरा २०५२ सालमा उनले स्थायीका लागि परीक्षा दिईन् । उक्त परीक्षाको नतिजा आउँन ८ वर्ष लाग्यो ।

शिक्षिका अमिता अमात्य । तस्बिरः सन्दीप आचार्य/केन्द्रबिन्दु

२०६० सालमा उक्त परीक्षाको नतिजा त्यसमा पास भएकाहरुको नाममा सेतो टिपेक्स लगाएर राजनीतिक पहुचको आधारमा भनसुन गर्नेहरुको नाम राखियो । त्यो बेला परीक्षाको तुरुन्तै रिजल्ट आएको भए उनी पास हुनेथिईन् होला । राजनीतिक कारणले आफ्न मान्छेहरु राखियो । उनको परीक्षा एकदमै राम्रो गएको थियो ।

उनीसँगै श्रीमान जागिर खाएर रिटार्यड भईसके । अमितालाई दुःख त त्यो बेला लाग्छ जब आफ्नै श्रीमान जागिर खाईसकेर रिटार्यड जीवन बिताईरहेका छन्, तर उनी अझै आफ्नो रोजगारीको ग्यारेन्टीका लागि लडिरहेकी छन् । उनीजस्तै करिब १३ हजार अस्थायी शिक्षकहरुको माग राख्यले सुनुवाई नगरे रितो हात घर फर्किनुपर्ने छ ।

राज्यले दिने भनिएको गोल्डेन ह्याण्डचेकलाई उनीहरुले ‘ललिपप’ को संज्ञा दिएका छन् । ‘बच्चालाई ललिपप दिएर ललाईफकाई गरेजस्तै हो यो गोल्डेन ह्याण्डचेक’ उनी भन्छिन् । २०७५ असारमा लिईएको अस्थायी शिक्षक परीक्षा प्रणाली नै अवैधानिक भएको उनको तर्क छ । त्यो परीक्षामा पास भएका सबै शिक्षकहरु राजनीतिक कारणले भएको उनको दाबी छ ।

उनलाई अब आफ्नो भन्दा छोराछोरीको भविश्य कसरी बनाउने भन्ने पिरलो छ । छोराछोरीको भविश्य बनाउने बेला उनलाई भने आफ्नो जागिर कसरी जोगाउने भन्ने समस्या छ । बच्चाहरुको पढाई कसरी गर्ने ? परिवार बिचल्लित भएन् ? उनको प्रश्न छ । मनमा यस्तै–यस्तै पीडा लुकाएर भएपनि उनी आन्दोलनमा होमिएकी छन् ।

आफ्नो स्थायीत्वको माग गर्दै देशभरका १३ हजार अस्थायी तथा करार शिक्षकहरु आन्दोलनमा छन् । उनीहरुले बैशाख २० गतेदेखि काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा आमरण अनसन थालेका छन् । पर्साकी नितु सिन्हा र जुम्लाकी राधा रावत आमरण अनसनमा बसेका हुन् ।

Logo